जीवनको सच्चा प्रेम !

 

‘आमाबुबाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुंगामाथि’ भने जस्तै रहेछ साँच्चै जीवन । बुढेसकालमा छोराछोरीको सहाराभन्दा पनि एक अर्काको बुढाबूढी सहारा बनेर बर्र्दियामा जीवन निर्वाह गर्दै एक वृद्ध जोडी दैनिकी रूपमा मागेर गुजारा चलाउँदै आफ्नो जीवनका बाँकी पलहरू काटिरहेका छन् ।
एउटा शिशुको जीवन नौ महिनासम्म आमाको गर्भमा बसेर बाहिर आएपछि नौलो संसार देख्छ । अनि बिस्तारै ऊ बढ्दै जान्छ । हरेक समयमा ऊ आफूलाई छुट्टै किसिमको देख्छ । त्यही मानिस जब आफूलाई आफ्नो जीवनसाथी सँगसँगै रहने गरी आफन्त आमाबाबा छोडी पर पुरुष, महिलासँग साइनो गाँस्न पुग्छ । यही सहारा जीवनभर उसको जीवन यात्री बन्छ । सँगै बाँच्ने अनि सँगै मर्ने कसम खाई जोडिएको नाता पछिसम्म पनि प्रगाढ अनि प्रिय हुँदोरहेछ ।
यस्तै एक जोडी छन् बर्दियामा, ०३२ सालमा स्याङ्जाबाट बसाइँ सरी बर्दिया आएका जोडीको दिनचर्या दिनहँु अरूको घरमा गई मागेर खानुबाहेक कुनै उपाय नै छैन । बर्दिया गुलरिया नगरपालिकाको नजिकै भादा पुलपारिको टरुवा गाउँमा बस्दै आएको यो जोडीको बसोबास धेरैजसो बाहिर नै बसेर बित्ने गर्छ । ७७ वर्षीय कृष्णबहादुर परियार र करिब ६० वर्ष नाघेकी उनकी श्रीमती पुतली परियार एकाबिहानैदेखि गाउँगाउँमा गई मागेर खाने गर्छन् । उनका एक छोरी छन् । तर, उनलाई भारततिर काम गर्ने मानिसले बिहे गरेर लगेपछि अहिलेसम्म फर्केर आइनन् ।
‘सहाराका रूपमा हामी नै छाँै । एक अर्काको सहारा दिने तै पनि ऐले आँखा देख्दिनँ । मैले हात समातीसमाती डोराएर गाममा डुलाउँछु । म नि कान कम सुन्छु बाटोमा गाडी आउँदा गाह्रो हुन्छ । धेरै दुःख छ गारो छ बाबु हामीलाई दिन कटाउन बरु चाँडै कालले लगेर माथि जान पाए राम्रै हुन्थ्यो, कोही नहुनेको त माथि पनि कोही नहुने रैछ’, परियारले भने ।
‘जीवन यस्तै रैछ पहिले हाम्ले कति धेरे इष्ट कमाएका थियाँै खान लाउन पुगेकै थियो कपडा सिलाएर नै । अब त बुढाबूढी भइएछ । उमेर ढल्किँदै गयो । काम गर्दै खान नसकिने भयो खाना पकाउन यसले आँखा देख्दिनँ मैले नै चाँजोपाँचो मिलाउँछु’, कृष्णबहादुर परियारले फेरि कुरा थपे ।
असल जीवनसाथी हुनका लागि एउटा सहारा मात्र होइन जीवनभर उसलाई सँगसँगैको यात्रामा सहारा दिए सबै पुग्दोरहेछ । उनीहरूको दैनिकजसो जीवन गाउँगाउँमा गई मागेर खानु अनि जहाँ रात पर्छ त्यहीँ रात बिताउनुबाहेक केही उपाय छैन । हामीलाई कसैले खान दिन्छन् । कसैले लाउन, कसैले मर्न नसकेका बुढाबूढी भनेर गालीसमेत गर्छन् क्यारम बाबु भन्छिन् कृष्णबहादुरकी पत्नी पुतली ।
हामीलाई हाम्रो जीवन चलाउन त कति गाह्रो छ । बेकारको जीवन भन्छउँ भने यी दुवै वृद्धवृद्धाको जीवन झन् कति गारो होला प्रश्न चिह्न यहाँनिर खडा हुन्छ । जुन संसार देख्ने आँखा छैन । बाहिरको उज्यालो कालो घाम पानी सबै अनुभव र बुढोले भनेपछि थाहा हुन्छ पुतली भन्छिन् । सोचेजस्तै जीवन हुन्न रहेछ न त आफूले चाहेको जस्तै हुन्छ । कतिविजोग छ । यी दुवैको जीवन बस्नलाई न त गतिलो आफ्नो घर नै छ । पानी पर्दा चुहिन्छ । सानो झुपडी छ उनीहरू एक जना मात्र बिरामी भएर ढल्यो भने मुखमा पानीसमेत पर्दैन त्यसैले हामीहरू जहाँ जाँदा नि सँगै जान्छौँ उनीहरू भन्छन् ।
सरकारले दिने सेवा सुविधा अथवा सामाजिक सुरक्षा भत्ता कृष्णले पाउँछन् भने पुतली सुरक्षा भत्ता पाउनबाट पनि वञ्चित छन् । पहिले नागरिकता बनाएको थिएँ हरायो उमेर पुगेको छैन भन्छन् वृद्ध भत्ता खान । बुढालेचाहिँ पाउँछन् त्यही पैसो मिलेको बेलामा टन्न माछा मासु लिएर खाने गर्छौं पुतलीले बताइन् ।
‘जीवनको सहारा एकअर्काका लागि हामी नै हौँ । के गर्ने बुढेसकालमा छोराछोरी भनेको नि यस्तै रैछ सन्तानको नाममा एउटी छोरी भए पनि नभए सरह छ । कहिले कता कहिले कता यसरी नै गुजारा चलाइरहेका छौँ ।’

प्रतिक्रिया