अक्सन मार्केट नहुँदा चिया किसान निराश

इलाम । एक वर्ष अघिदेखि सञ्चालन गर्ने भनिएको चिया लिलाम बिक्री केन्द्र (अक्सन मार्केट) अझै सञ्चालनमा आएको छैन ।
यसवर्ष चिया टिप्ने सिजन सुरु भइसक्दासमेत अक्सन मार्केट सञ्चालन नहुँदा चिया कृषक अन्योलमा परेका छन् । फागुन महिनादेखि किसानले यो पटकको हरियो पत्ती टिप्न थालेका छन् । आगामी आर्थिक वर्षदेखि अनुदानका लागि बजेट विनियोजन गर्ने सरकारी आश्वासन पाएको अक्सन सञ्चालन समितिले नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्र अक्सन सञ्चालनमा ल्याउने जनाएको छ ।
नेपालमा पहिलो पटक झापाको विर्तामोडमा स्थापना हुन लागेको अक्सन मार्केट स्थापना भएपछि किसानलाई सहुलियत पुग्ने छ । सरकारले सुरुका तीन वर्ष अनुदान दिए मात्र अक्सन मार्केट सञ्चालनमा सहज हुने अक्सन सञ्चालक समितिका अध्यक्ष सुरेश अग्रवालले बताए ।
‘क्रेतालाई अलि बढी सुविधा दिएर भए पनि नेपालको अक्सनबाट चिया किन्ने वातावरण बनाउनुपर्छ’ अग्रवालले भने, ‘दुई÷तीन वर्षपछि अनुदान नदिए पनि मार्केट आफैं सञ्चालन हुन्छ ।’ अक्सन मार्केट सञ्चालन निर्देशिका बनिसकेको भए पनि त्यसलाई परिमार्जन गरिने बताइएको छ । यसअघि चिया उत्पादकले कम्तीमा २५ प्रतिशत उत्पादन अक्सन मार्केटबाटै बिक्री गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेर कम्तीमा ५० प्रतिशत उत्पादन अक्सन मार्केटमा नै ल्याउनुपर्ने व्यवस्था राख्न प्रस्ताव गरिएको छ ।
यस्तै स्थानीय बजारमा खपत हुने चियासमेत अक्सन मार्केटबाटै किनबेच गर्नुपर्ने प्रावधान निर्देशिकामा छ । निर्देशिका परिवर्तन गरेर त्यसअनुसारको कार्यविधि बनाएपछि मात्रै अक्सन मार्केट सञ्चालनको बाटो खुल्नेछ । चार वर्षअघि नै सरकारले चियाको अक्सन मार्केट सञ्चालन गर्ने घोषणा गरे पनि कार्यान्वयन नहुँदा चिया उद्योगी र किसान निराश हुँदै आएका छन् ।

प्रतिक्रिया