चुनावी गीतमा पनि एमाले अगाडि !

काठमाडौं । ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ भन्दै भाका हाल्ने बद्री पंगेनी अहिले चुनावी गीतमा स्वर घुमाउँदै छन् । एमालेको चुनावी प्रचारलाई सघाउने गरी उनले गाएका छन्, ‘हजुरबाले भन्नुहुन्छ, सूर्यमा भोट हाल्ने ।’ यो गीत अहिले युट्युबमा पनि अपलोड भएको छ ।
‘सुर्के थैली खै’, ‘पूर्व पश्चिम रेल’ जस्ता सर्वाधिक चर्चित गीतका सर्जक राजनराज सिवकोटी पनि ‘भोट माग्ने’ गीतमा लय हाल्दै छन् । उनले मनिषा पोखरेलसँग गाएका छन्, ‘रुख छापमा भोट लगाउँ ।’
यो दौडमा माओवादी किन पो पछि हट्थे र ? ‘आयो आयो माओवादी’ गीति एल्बम नै बजारमा ल्याएको छ । गीतमा स्वर दिएकी छिन्, स्मिता दहालले । यिनी पुष्पकमल दाहालकी साख्खै नातिनी हुन् । दुईवटा गीत संग्रहित एल्बममा संगीत भने बिबी अनुरागीको छ ।
दुई चरणमा हुने भनिएको चुनावको तिथि जतिजति नजिकिँदै छ, चुनावी गीतको ध्वनी चर्कंदै छ । आआफ्नै भाका, आआफ्नै तालमा गीतहरू घन्किँदै छन् । कलाकर्मीहरू को भन्दा को कमको शैलीमा उत्रिएका छन् । यद्यपि, ती सबैको सार भने एउटै छ, ‘हाम्रो पार्टीमा भोट हालौँ ।’
गीत सुनेकै भरमा कसैले भोट हाल्छ कि हाल्दैन ? त्यो छुट्टै पाटो हो । तर, गीतको फेरो समातेर नेताहरूलाई जनताको घरदैलो पुग्न भने जाँगर चल्नेछ । मुखले भट्याउनुपर्ने कुरा गीतमै भनेपछि ‘भोटदाता’ कसो प्रभावित नहोला ?
गीतमा आह्वान गरिएको छ, आफ्नो पार्टीलाई भोट हाल्न । कतै उत्साह भरिएको छ, कतै पीडाको गीत गाइएको छ । कतै प्रतिशोधको भाव जगाइएको छ त कतै प्रतिरक्षाको आह्वान गरिएको छ ।
गीतमै आरोप प्रत्यारोप
गीतमा एक अर्कालाई होच्याइएको छ । एकअर्काको पोल खोल्ने काम पनि गरिएको छ । पार्टीपार्टीबीच चुनावी गीतमै दोहोरी चलेको छ, एउटाले आरोप लगाएजस्तो, अर्कोले खण्डन गरेजस्तो ।
जस्तो कांग्रेसको चुनावी गीत छ, ‘हत्या हिंसा आतंक गर्न खोजे अरूले, हतियारबाट शासन गर्न खोजे अरूले ।’ उसको यो गीतले सतापक्ष माओवादीलाई लखेटेको छ ।
माओवादीको चुनावी गीत पनि कम छैन । अहिलेसम्म भएका राजनीतिक परिवर्तनको संवाहक माओवादी नै हो भन्ने उसको आशय छ ।
‘जनयुद्धले हेपिएका जनतालाई उठायो
संघीयता र संविधान माओवादीले ल्यायो
यो देशलाई बनाउने हामी हौँ माओवादी … ।’
एमालले आफ्नो सामु अरू वामपुड्के भएको भन्दै खिल्ली उडाएको छ । देशमा संकट पर्दा एमाले नै अग्रसर हुन्छ भन्ने भावको गीतमा भनिएको छ,
‘सिमानामा छिमेकीले साह्रै आँखा गाढे
अरू कोही बोल्ने छैनन्, एमालेले छाडे
आँच पु¥याउन खोजे भने राष्ट्रियतामाथि
एकजुट हुने बेला आयो देशैभरका साथी ।’
खै देउडा, खै मारुनी ?
भूगोल र परिवेश अनुसार नेपाली गीतको स्वादमा पनि विविधता खोजिन्छ । जस्तो सुदूरपश्चिमेलीहरू देउडा भाकामा हुरुक्कै हुन्छन्, पूर्वेलीहरू मारुनी भाकामा घत मान्छन् । यद्यपि, पार्टीका चुनावी गीतमा भने मध्यमाञ्चल क्षेत्रमा रुचाइने दोहोरी भाका सुन्न सकिन्छ ।
अहिले निकै हिट भएको गीत ‘सुन साइली’ को प्यारोडी बनाएर चुनावी गीत तयार गरिएको छ । यसो भन्दै, ‘सुन साइली, सुन साइली विदेशबाट म आउँला, यसपाली माओवादीलाई जिताउँला ।’
कसको गीत बढी हेरिए
अहिले कुन गीत कति चर्चित भयो भनेर नाप्ने साझा इकाई हो, युट्युब । त्यसैले अहिले गीतको अडियो मात्र चल्दैन, भिडियो पनि चल्छ । अहिले यी प्रमुख तीन दलकै गीत युट्युबमा राखिएको छ ।
माओवादी केन्द्रको चुनावी गीत ‘घरघरमा माओवादी’ भन्ने गीत यो आलेख तयार पर्दासम्म २९ हजारपटक हेरिएको छ । अक्सिजन मिडियाले २०१७ अप्रिल १९ मा अपलोड गरेको यो गीत झंकार बुढाले गाएका हुन् ।
माओवादीकै अर्को चुनावी गीत ‘माओवादी केन्द्रलाई विजय गराऊँ’ भन्ने गीत ४५ हजार पटक हेरिएको छ ।
कांग्रेसको चुनावी गीत ‘उठ ए उठ नेपाली, जाग ए जाग नेपाली, कांग्रेसलाई जिताउन लाग नेपाली’ गीत युट्युबमा ५९ हजारपटक हेरिएको छ । यो गीत आचार्य डिजिटलले २०१७ अप्रिल १५ मा अपलोड गरेको हो ।
यो दौडमा सबैभन्दा अगाडि छ, एमाले । उसको ‘मै पनि एमाले’ भन्ने गीत एक लाख ३० हजारपटक हेरिएको छ । बर्दन डिजिटलले २०१७ अप्रिल २४ मा अपलोड गरेको भिडियोमा बद्री पंगेनी र प्रिय भन्डारीले स्वर दिएका छन् ।
इस् तँलाई भोट !
एकातिर कांग्रेस, एमाले र माओवादी चुनावी गीतमार्फत भोटदाता फकाउने मेलोमेसो मिलाइरहेका छन् भने अर्कोतिर नेताहरूको झुटो आश्वासन, सत्ताको लुछाचुँडीजस्ता विकृत राजनीतिलाई औँल्याउँदै एउटा गीत सार्वजनिक भएको छ, ‘इस् तँलाई भोट ।’
एक युवाले ¥याप शैलीमा यस्तो गीत सार्वजनिक गरेका हुन् ।
‘नमस्ते भनी, आमाबुबा भनी,
गरिबको अगाडि हरियो नोट गनी,
भोट जितेपछि कता हराइस्
यसपालीको चुनावमा इस तँलाई भोट
यो गीत सबिन भट्टराईले गाएका हुन् उनलाई स्वरमा साथ दिएकी छिन्, झुमा निरौलाले । दुवै पतिपत्नी पनि हुन् । उनीहरूको गीतमा नेताको द्वैध चरित्रमाथि सतर्क रहन पनि सुझाइएको छ । भोट माग्ने बेला मात्र घर आँगनमा देखापर्ने नेताहरू चुनाव जितेपछि कुर्सीको लुछाचँुडीमा लाग्ने भन्दै नेतालाई लोप्पा ख्वाउनुपर्ने सुझाइएको छ ।

प्रतिक्रिया