विदेशी लगानीको प्रतिबद्धता बढ्दो

काठमाडौं । २०७३ साल मुलुकको अर्थतन्त्रमा उत्साहजनक सुधारसँगै विदेशी लगानीले पनि आशाको सञ्चार गराएको छ । बन्द, हड्तालको कमी र राजनीतिक वातावरणमा सुधारको संकेतले विदेशी लगानीकर्तालाई लगानीका लागि आकर्षित गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ दशमलब ९४ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । यही वर्ष उद्योग विभागमा दर्ता हुन आएका विदेशी लगानीकर्ताको लर्काेले लगानीको वातावरण बन्दै गएको संकेत गर्छ । गत वर्ष मुलुकभित्र १७ अर्ब ५० करोड
रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार यो अवधिमा विदेशी लगानीका ३ सय ८२ उद्योगबाट साढे १७ अर्बको लगानी प्रतिबद्धता आएको हो । यो अघिल्लो वर्षको भन्दा डेढ गुणा बढी हो ।अघिल्लो वर्ष १० अर्ब ८५ करोड रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । गत वर्ष ३ सय २९ उद्योग दर्ता थिए । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पनि कम लगानी आए । यो वर्ष बन्द, हड्तालका घटना कम भएकाले समेत विदेशीमा केही ‘कन्फिडेन्स’ बढेको पाइएको छ । यही वर्ष सरकारले लगानी सम्मेलन पनि ग¥यो । लगानी सम्मेलनमा विभिन्न देशले झन्डै १४ खर्ब लगानीको प्रतिबद्धतासमेत गरेका छन् । लगानी सम्मेलनले विदेशी लगानीकर्ताको मनोबल बढाउन सहयोग पुगेको छ ।
गत वर्षपनि सबैभन्दा बढी सेवा र पर्यटन उद्योग दर्ता भएका छन् । १ सय ५७ वटा सेवामूलक उद्योग छन् भने १ सय ५६ वटा पर्यटन उद्योग छन् । उत्पादनमूलक ४८ वटा उद्योग दर्ता भएका छन् । कृषि तथा वन जन्य उद्योग १८ वटा मात्रै दर्ता भएको छ । ऊर्जा, सूचना प्रविधि र खनिज उद्योग भने एक–एक वटा मात्र दर्ता भएका छन् । सबैभन्दा बढी लगानी सेवामूलक उद्योगमा आठ अर्ब रुपैयाँबराबरको प्रतिबद्धता आएको छ । विभागका अनुसार पर्यटनमा ६ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक उद्योगमा तीन अर्ब रुपैयाँको प्रतिबद्धता आएको छ । कृषि तथा वनजन्य उद्योगमा भने ३१ करोड रुपैयाँबराबरको मात्र प्रतिबद्धता आएको विभागले जनाएको छ ।
यो वर्ष दर्ता भएका विदेशी कम्पनीले १२ हजारलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । विदेशी कम्पनीमध्ये सेवा क्षेत्रका उद्योगले पाँच हजार बढीलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
पर्यटन उद्योगले करिब चार हजारलाई रोजगारी दिने प्रतिबद्धता गरेका छन् । उत्पादनमूलक उद्योगमा भने दुई हजार पाँच सय व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको छ । गत वर्ष पनि सबैभन्दा बढी सेवामूलक र पर्यटन उद्योगनै दर्ता भएका थिए । १ सय ३४ वटा सेवामूलक, १ सय ६ वटा पर्यटन, ५७ वटा उत्पादनमूलक, २८ वटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका थिए ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कृषि, उत्पादन र ऊर्जा क्षेत्रका उद्योग घटेका छन् । अघिल्लो वर्ष तीन वटा उद्योग ऊर्जा क्षेत्रमा आउँदा गत वर्ष एउटा मात्र उद्योग दर्ता भएको छ । रोजगारीमा पनि अघिल्लो वर्ष सबैभन्दा बढी सेवामूलक उद्योगबाटै प्रतिबद्धता आएको थियो । सेवामूलक उद्योगमा चार हजार रोजगारीको प्रतिबद्धता आउँदा पर्यटन र उत्पादनमा दुई र दुई हजार व्यक्तिलाई रोजगारीको प्रतिबद्धता आएको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कृषि तथा वन क्षेत्रका उद्योगमा लगानी घटेको छ । अघिल्लो वर्ष ३३ करोड रुपैयाँ कृषि तथा वन क्षेत्रका उद्योगमा लगानी आएकोमा गत वर्ष ३१ करोड रुपैयाँ मात्र लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक उद्योगमा भने अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बर लगानी प्रतिबद्धता आएको छ ।
अघिल्लो वर्ष चार अर्ब रुपैयाँ मात्र प्रतिबद्धता आउँदा गत वर्ष भने आठ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको हो । नेपालमा २०४६ को परिवर्तनपछि साना, मझौंला र ठूला सबै खाले उद्योग गरी जम्मा तीन हजार नौ सय २० वटा विदेशी लगानीका उद्योग दर्ता भएका छन् । विभागका अनुसार दुई खर्ब आठ अर्ब १९ करोड ६० लाख रुपैयाँबराबरको विदेशी लगानी भित्रिएको छ ।

प्रतिक्रिया