सुरक्षा दिन सेना प्रतिबद्ध ः खाँण

काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनको सुरक्षा प्रदान गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् । बुधबार आयोजित साक्षात्कारमा उनले विगतमा संविधानसभाको निर्वाचनमा पनि सेनाले सुरक्षा प्रदान गरेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा पनि सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
‘सेना निर्वाचनमा सहभागी हुने मतदाता, कर्मचारी र मतपेटिकाको सुरक्षा गर्न तयार छ’, उनले भने ‘अगाडिको घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्ने र त्यसपछिको घेरामा निर्वाचनमा खटिने सबैको सुरक्षा गर्नका लागि सेना तयार रहेको छ ।’
उनले अहिले निर्वाचनमा देशभरिको सुरक्षा कस्तो हुने भन्नेमा आँकलन भइरहेको बताउँदै आवश्यक परे मात्र सेना परिचालन गर्ने जानकारी गराए ।
‘दुई चरणमा निर्वाचन हुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र पनि सुरक्षा दिन सक्छन्’, उनले भने ‘निर्वाचनमा सेना आवश्यक परेन भने पनि ब्यारेकबाट सेनाले अवलोकन गर्नेछ । जब सेनाको आवश्यकता पर्छ अनि मात्र सेना मैदानमा उत्रनेछ ।’
मन्त्री खाँणले सरकारले चाँडै नै राष्ट्रिय प्रतिरक्षा सुरक्षा नीति ल्याउन लागेको जानकारी गराए । उनले अहिले प्रतिरक्षा सुरक्षा नीतिमा सरकारले सैद्धान्तिक सहमति जनाइसकेको भन्दै चाँडै नै समिति वा आयोग बनाएर कस्तो नीति सम्बन्धमा अध्ययन गरिने जानकारी गराए ।
उनले जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारले नै नयाँ बजेट ल्याउने जिकिर गरे । उनले कांग्रेस र माओवादी केन्द्रबीच मतभेद र द्वन्द्व भए पनि तीनै तहको निर्वाचनसम्म दुई पार्टीको समीकरण रहिरहने दाबी गरे । उनले देशमा शान्ति कायम, द्वन्द्व व्यवस्थापन र तीनै तहको निर्वाचन गर्नका लागि संविधान संशोधन विधेयक ल्याइएको जानकारी गराए ।

प्रतिक्रिया