देश निर्वाचनमा होमियो ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकभर निर्वाचनको वातावरण बनेको र देश निर्वाचनमय भएको बताएका छन् ।
अमेरिकी सिनेटरद्वय क्रिस्टोफर कुन्स र जेफ मक्लीसँग आज भएको भेटमा उनले नेपालको संविधान कार्यान्वयनका निम्ति देश स्थानीय तहको निर्वाचनमा होमिएकोले त्यसलाई तोकिएकै मितिमा सम्पन्न गर्ने जानकारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
आमनेपाली जनताले स्थानीय तह निर्वाचनलाई उत्सवका रूपमा लिएको बताउँदै प्रधानमन्त्रीले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग एवं सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरे । सो भेटमा उक्त मुलुकको सहयोगमा नेपालका विभिन्न भागमा सञ्चालित विकासका आयोजनाबारे छलफल भएको थियो । अमेरिकी सिनेटरद्वयले नेपाल सरकारको समृद्धि र विकासको सोचप्रति मतैक्यता प्रकट गर्दै राजनीतिक एवं सामाजिक क्षेत्रका साथै नेतृत्व तहमा महिलाको उपस्थिति विश्वका लागि नमुना भएको भन्दै प्रशंसा गरे । उनीहरूले नेपालको चौतर्फी विकासमा अमेरिकाले सघाउने र सधँै सकारात्मक रहने आश्वासन दिएका थिए । भेटमा नेपालका लागि अमेरिकी राजदूत आलाइना टेप्लिज पनि उपस्थित थिइन् ।

प्रतिक्रिया