उपकरण नहुँदा काममा समस्या

काठमाडौँ । सरकारले देशका सबै प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा दुई चिकित्सक पठाइसकेको जनाएको छ । हाल देशभरका एक सय ९८ स्वास्थ्य केन्द्रमा स्थायी, अस्थायी र छात्रवृत्तिका चिकित्सक पठाइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका कर्मचारी प्रशासनका शाखा अधिकृत प्रेमलाल दुवालले धेरै स्वास्थ्य केन्द्रमा चिकित्सक गइसकेको बताए । उनले भने, ‘चालु आवमा मन्त्रालयले मेडिकल अफिसर आठौँ तहमा दुई सय दुई र एक सय ७९ अस्थायी चिकित्सक नियुक्त गरी स्वास्थ्य केन्द्रमा पठाइसकेको छ । तर अस्थायी चिकित्सक माग गरे जति आउँदैनन् । विशेषज्ञ चिकित्सक नौ तहमा हामीले एक सय ५९ जना मागेका थियौँ, एक सय २८ निवेदन प¥यो । त्यसमा पनि अहिलेसम्म ४० जनाले मात्र पत्र बुझी जिल्ला गएका छन् ।’
मन्त्रालयले दुर्गमका सबै स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउने लक्ष्यअनुसार विशेषज्ञ चिकित्सक स्थायी ११औँ तह ३३, नौ तहमा ८७ र डेन्टल सर्जन आठौँ तह पाँचजना नियुक्त गरेको छ । हरेक स्वास्थ्य केन्द्रमा आठौँ तहका चिकित्सक र क्षेत्रीय, अञ्चल र जिल्ला भने आठौँ सोभन्दा माथिका चिकित्सक रहने व्यवस्था सरकारले गरेको छ । सरकारले एउटा स्वास्थ्य केन्द्रमा दुई चिकित्सक पठाउने लक्ष्य राखेको छ ।
छात्रवृत्तिमा पढेका चिकित्सक पनि पठाएको छ । तर अस्थायी दरबन्दीमा माग गरेअनुसार चिकित्सक आउँदैनन् । शाखा अधिकृत दुवालका अनुसार अस्थायीको अवधि एक आव मात्र हुन्छ । त्यसपछि पुनः काम खोज्न समस्या हुने भएकाले धेरै चिकित्सक भएको काम छोडर छोटो समयका लागि अस्थायीमा काम गर्न मान्दैनन् ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाको सबै स्वास्थ्यमा चिकित्सक पु¥याउने, उपकरण र भौतिक पूर्वाधार निर्माण गर्ने विषयमा विशेष ध्यान दिएको भनाइ छ । मुगु जिल्ला अस्पतालमा स्थायी नियुक्त लिएर पुग्नुभएका डा. जितेन्द्र कँडेल दुर्गममा आवश्यक स्रोतसाधनको अभाव मुख्य समस्या भएको बताए । उनले भने, ‘दुर्गममा मुख्य समस्या उपकरणको हो । आएका उपकरण पनि कतिपय प्रयोग नै नभएर स्टोरमा थन्किएको अवस्थामा छ । चाहिने चीजको मतलब नै धेरै परिवर्तन हुन नसकेको हो । दुर्गममा बाटोघाटो, पानी, बिजुली सबैको अभाव छ । दुर्गममा सोचभन्दा दयनीय स्थिति छ ।’
यसै वर्ष नियुक्ति लिएर जिल्ला पुगेका चिकित्सक मुख्यतयाः गर्भवतीका लागि चिकित्सक नहुँदा धेरै समस्या भोग्नु परेको अनुभव सुनाएका छन् । केशरापुर प्राथमिक स्वास्थ्य केन्द्र बैतडीमा गत फागनुमा नियुक्ति लिएर पुगेका डा. जीवन कार्कीले स्वास्थ्य संस्थामा बत्ती नभएकाले उपकरण ल्याएर पनि प्रयोगमा ल्याउन गाह्रो हुने बताए ।
उनले भने, ‘दुर्गममा चिकित्सक आउन नमान्नुको मुख्य कारण उपकरण, स्रोतसाधन नभएरै हो । स्वास्थ्यसंस्थामा पनि ६ वर्षपछि म आएको हुँ । यहाँ बिरामीको उपचार गर्न नसक्ने भए रिफर गर्न साधन छैन । एम्बुलेन्स नहँुदा अझ धेरै समस्या छ । जसले गर्भवतीलाई धेरै गाह्रो भएको छ ।’ पहिला चिकित्सक बन्नुको उद्देश्य असह्य बिरामीलाई उपचार गर्नु वा समाज सेवा गर्नु भन्ने थियो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अहिले समय फेरिएको छ, अब चिकित्सकको उद्देश्य पनि विस्तार भएको छ । पढ्दा लाग्ने खर्चदेखि
सोहीअनुसारको जीवनयापनलगायत विषयले निःस्वार्थ सेवाभन्दा पनि आर्थिक लाभ पनि यसैसँग जोडिएको बताउँछन् ।
सरकारले हरेक वर्ष दुई सयको हाराहारीमा छात्रवृत्तिका एमबिबिएस चिकित्सक उत्पादन गर्छ भने निजी लगानीमा त करिब दुई हजार जति चिकित्सक उत्पादन हुन्छन् । सल्लाहकार पौडेलले स्वास्थ्य केन्द्रमा उपकरण पु¥याउनका लागि मन्त्रालयले तत्कालका लागि ९६ करोड छुट्याएर उपकरण खरिद प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए । मन्त्रालयले सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्वताअनुरूप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण पु¥याउन रकम छुट्याएको हो ।

प्रतिक्रिया