सडकसँगै भित्रिएको खुसी

bato

‘यस्तो भिरपाखामा मोटर आउला भन्ने सोचेका थिएनौँ’, जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भने, ‘बुढ्यौलीमा विकास देख्न पाइयो ।’ विकासबाट वञ्चित बोर गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । मंगलबार बोर पुगेका जिप, ट्र्याक्टर, मोटरसाइकलाई गाउँलेले बाजागाजासहित स्वागत गरे ।
गाउँमा मोटर आएको अवसर छोपेर स्थानीयवासीले ‘खुसियाली कार्यक्रम’ को आयोजना गरेका थिए । मोटर चढेर गाउँ पुगेका अतिथिलगायत सवारी चालकलाई गाउँलेले फूलमालाले सम्मान गरे । दिनभरजसो नौमती बाजामा नाचगान गरेर स्थानीयवासीले ‘उत्सव’ नै मनाए । ९१ घरधुरी रहेको बोर गाउँमा गतमहिना मात्र सडक पुगेको थियो । कुश्मीसेरा–सर्कुवा–बिनामारे–अर्जेवा–जैदी–छिस्ती कृषि सडकअन्तर्गतको एउटा खण्ड बोर गाउँमा पर्छ ।
जैदीकै पाहाकोटसम्म गतवर्ष नै मोटर गुडे पनि पाँच किमी टाढाको बोरसम्म सडक पुग्न एक वर्ष लाग्यो । ‘पारि गाउँमा मोटर गुडेको हेरेर चित्त बुझाउँथ्यौँ’, स्थानीयवासी जंगबहादुर रानाले भने ‘अहिले त बोर गाउँको मुहार फेरियो, विकासको मेरुदण्ड सडक आयो ।’ सडकलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्ने रानाले बताए । स्थानीय दीपज्योति आमा समूहकी अध्यक्ष कलावती रानाले बोर गाउँवासीको विकासको सपना पूरा भएको प्रतिक्रिया दिए ।
उनले सडकसँगै अन्य विकासका पूर्वाधार निर्माणमा गाउँले एकजुट हुनुपर्ने बताए । सडकले सदरमुकामसँगको यात्रालाई छोटाएपछि गाउँलेले ठूलो सुविधाको अनुभव गरेका छन् । दिनभर हिँडेर पनि नपुगिने सदरमुकाम बागलुङ बजारमा अहिले तीन घन्टामै पुग्न सकिने भएको छ ।
तत्कालीन जिविसले वर्षौंअघि खन्न सुरु गरेको कृषि सडक बल्लतल्ल बोर गाउँसम्म पुगेको हो । सडक उपभोक्ता समितिका अध्यक्ष लीला रानाले ठूलो मिहिनेतले सडकलाई जैदीमा छिराएको बताए । उनका अनुसार सडकलाई छिस्तीसम्म पु¥याउन अझै धेरै काम बाँकी छ । जिल्लाको पश्चिम क्षेत्र सडक सञ्जालमा छिटो जोडिए पनि दक्षिण भेग पछाडि परेको उनको भनाइ छ । ‘जिविसको ठूलो योजनामध्येमा परे पनि धेरै कठिनाइ र अवरोधका कारण सडक निर्माणमा ढिलाइ भएको हो’, अध्यक्ष रानाले भने ‘अब सहज ढंगले छिस्तीसम्म सडक जोडिन्छ ।’ जिल्ला समन्वय समिति (तत्कालीन जिल्ला विकास समिति) ले चालु आवमा सडकका लागि १३ लाख अनुदान छुट्याएको थियो ।
यस्तै, आर्थिक केन्द्रअन्तर्गतको अर्थ मन्त्रालयबाट प्राप्त २० लाख रूपैयाँ पनि सडकमा खर्च भइसकेको उपभोक्ता समितिले जनाएको छ । कृषि सडकको बाँकी मार्ग खोल्न आवश्यक बजेट व्यवस्था गरेर समयमै काम पूरा गरिने जिल्ला समन्वय समितिले जनाएको छ । उक्त सडकले जैमिनी नगरपालिकाका अधिकांश वडालाई समेटेको छ । कृषि उत्पादनलाई बजारसम्म ल्याउन र अन्य आर्थिक गतिविधिका लागि कृषि सडक महत्वपूर्ण मानिएको छ । सडक पुगेको अवसरमा खुसियाली मनाउन बोर साहित्यिक संगम, दीपज्योति आमा समूह, जनप्रिय युवा क्लब र सयपत्री युवा क्लबले कार्यक्रमको आयोजना गरेका थिए ।

प्रतिक्रिया