काठमाडौं । समीक्षकसमेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ को व्यापार उत्साहजनक देखिएको छ । ‘घामपानी’ प्रति दर्शकको मोह दिनप्रतिदिन अझै बढ्दो छ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनको दुई दिन अर्थात शुक्रबार र शनिबार मात्र करोडमाथिको व्यापार गरेको थियो । आइतबार र सोमबार पनि ‘घामपानी’ को व्यवसाय उत्साहजनक रहेको निर्देशक दीपेन्द्र लामाले बताए । दर्शकले माउथ पब्लिसिटी गरिदिएकोले पनि चलचित्रका दर्शक दिनदिनै बढिरहेको निर्देशक दीपेन्द्रको बुझाइ छ ।
चलचित्रले नियमित दर्शकदेखि बौद्धिक वर्गसम्मलाई खुसी पार्न सफल भएको देखिएको छ । गीतकार राजेन्द्र थापाले चलचित्र हेरेपछि आफ्नो फेसबुकमा लेखेका छन् ‘गहिरो विषयलाई सरल र सहजतवरले दीपेन्द्रले प्रस्तुत गरेर घामपानी दर्शकका लागि पूरा प्याकेजको खुराक बनाएका छन्’ ।
त्यस्तै पत्रकार गुणराज लुइँटेलले चलचित्र हेरेर खुसी व्यक्त गरेका छन् । उनले ‘घामपानी’ नेपालीले गर्व गर्ने चलचित्र बनेको प्रतिक्रिया दिएका छन् । अग्रज पत्रकार तथा लेखक नारायण वाग्लेले पनि ‘घामपानी’ लाई एक उदाहरणीय फिल्मको संज्ञा दिए । मूलधारका सिनेमा सरल, शान्त, सारपूर्ण कथासहित बनाउन सकिन्छ भन्ने उदाहरण निर्देशक लामाले दिएको उनको दाबी छ ।
चलचित्रका लेखकसमेत रहेका उपन्यासकार नयनराज पाण्डेले ‘व्यावसाहिक चलचित्र बनाउने नाममा अनेक तामझाम र उटपट्याङ गर्दै पर्दैन । सरल पटकथा, सुललित प्रस्तुति र मौलिक बिम्बलाई सहज किसिमले प्रस्तुत गरिदिए मात्र पनि सुन्दर र रोचक चलचित्र बनाउन सकिन्छ भन्ने उदारण ‘घामपानी’ ले दिएको छ भनेका छन् ।
चलचित्र ‘घामपानी’ दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङलगायतको मुख्यभूमिका रहेको छ । देशभरका ७० भन्दा बढी पर्दामा चलचित्र एकसाथ प्रदर्शनमा आएको हो । अन्तरजातीय प्रेमकथा र युवाहरूको संघर्षको कथा उठाइएको चलचित्र सिनेमा आर्ट, हाइलाइट्स नेपाल र टचलाइट प्रोडक्सनले मिलेर बनाएका हुन् । चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत रहेको छ ।
प्रतिक्रिया