काठमाडौं । रुद्राक्षफिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘मेरी कुसुम’ २५ जेठबाट नेपालभर रिलिज हुँदै छ । यो चलचित्रको प्रदर्शन मे ५ मा दुबईमा पनि हुँदै छ । चलचित्रको रिलिज मिति नजिकिँदै जाँदा यसको निर्माणपक्षले प्रचार सामग्री पनि विभिन्न ढंगले सार्वजनिक गरिरहेको छ । दुबईको प्रदर्शनलाई पनि विशेष ख्याल गर्दै यसको गीतसंगीत र ट्रेलर रिलिज गरिएको हो । यसैबीच, चलचित्रमा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘म त बदलिएँ तिम्रो कारण’ बोलको गीत रिलिज गरिएको हो । टंक बुढाथोकी र मेलिना राईको आवाज रहेको गीतमा बुढाथोकीकै संगीत तथा शब्द छ । एनआरएन घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ ।
दिव्यराज सुवेदीले छायांकन गरेको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्रको यो गीतको शब्द, संगीत र स्वर उत्कृष्ट छ । साथमा कविराजले पनि गीतको भिडियोलाई उत्कृष्ट बनाउन मिहिनेत गरेका छन् । ट्रेलर सार्वजनिक भएपछि यो चलचित्र चर्चामा छ ।
प्रतिक्रिया