एउटै बैंकमा दुईटा खाता खोल्न नपाइने

rastra bank

काठमाडांै । नेपाल राष्ट्रबैंकले एउटै बैंकमा एकै व्यक्तिको नाममा एकभन्दा बढी बचत खाता र एटिएम कार्ड सञ्चालनमा रोक लगाएको छ ।
राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै एक व्यक्तिको एकै प्रकृतिको एउटा खाता मात्र सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्रबैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले एकजना व्यक्तिलाई एउटै प्रकारको एकभन्दा बढी डेबिट र क्रेडिट कार्ड पनि जारी गर्न नपाउने भएका छन् । यो निर्देशन जारी हुनु अगाडि एक व्यक्तिको एकभन्दा बढी एकै प्रकृतिको खाता सञ्चालनमा रहेको वा कार्ड जारी गरेको भए एकै प्रकृतिको एउटै मात्र खाता र एउटा मात्र कार्ड कायम राख्न पनि राष्ट्रबैंकले भनेको छ ।
यो व्यवस्था मुद्दती खाताको हकमा भने लागु नहुने राष्ट्र बैंकले प्रस्ट पारेको छ । साथै कल खाता र बचत खाताको ब्याजदर समान बनाउन यस अघि जारी गरेको निर्देशनलाई थप स्पष्ट पार्दै बचतको सबैभन्दा न्यून ब्याजदर आउने खाता भनेर सम्झनुपर्ने राष्ट्रबैंकको निर्देशनमा उल्लेख छ । बचत खातामा सबैभन्दा न्यूनतम ब्याजदर एक प्रतिशत रहेको छ ।
यस्तै राष्ट्रबैंकले ऋण लिँदा बैंकहरूले लिने सेवा शुल्कमा कडाइ गर्दै बैंकले ऋण नदिएमा सेवाग्राहीबाट सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । बैंकबाट ऋण नपाएमा सम्बन्धित सेवाग्राहीको शुल्क सम्बन्धित व्यक्तिको खातामा फर्काउनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
कर्जा प्रवाह गर्दा लिने प्रशासनिक शुल्क र प्रतिबद्धता शुल्कबाहेक कर्जासँग सम्बन्धित शुल्क ब्याजदर प्रतिविम्बित गर्नुपर्छ । यसरी लिने शुल्कमा प्रशासनिक र प्रतिबद्धता शुल्कको फरक ० दशमलब २५ प्रतिशतभन्दा फरक हुनु हुँदैन,
राष्ट्रबैंकको निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया