महासंघमा राणा र गोल्छाको आगमन

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५१औं साधारणसभा मंगलबार सम्पन्न भएको छ । महासंघको साधारणसभाले व्यवसायी शेखर गोल्छा वरिष्ठ उपाध्यक्षमा अत्यधिक मतले चुनिएका छन् । महासंघको स्थापना कालदेखिको इतिहासमा पहिलो पटक महिला व्यवसायी भवानी राणाले नेतृत्व सम्हाल्दै छन् । वरिष्ठ उपाध्यक्ष रहेकी राणालाई अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गरेपछि उनले आफ्नो अध्यक्षको जिम्मेवारीको सम्हाने छन् ।
करिब दुई दशकदेखि गोल्छा समूहले महासंघको नेतृत्वमा पुग्ने सपना शेखर गोल्छाले पूरा गरेका छन् । केही समयअघि महासंघको विधान संसोधन भएपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएकाले आगामी तीन वर्षपछि गोल्छा महासंघको अध्यक्ष हुनेछन् । मंगलबारको निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्दी किशोरकुमार प्रधानलाई अत्यधिक मतले पछि पारेका थिए । निर्वाचनमा खसेको विभिन्न क्षेत्रको मतअनुसार गोल्छाले ६३ दसमलव ३० प्रतिशत मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी प्रधानले ३६ दसमलव ७० प्रतिशत मात्र मत पाए । कुल खसेको तअनुसार गोल्छाले वस्तुगत समूहबाट ४७ मत पाए भने प्रधान ५१ मत पाएका थिए । यस्तै, जिल्ला तथा नगरबाट गोल्छाले ६१ मत पाए भने प्रधानले ४२ मत मात्र पाएका थिए । जिल्ला नगरमा राम्रो पकड रहेको भनिएका प्रधानले त्यही क्षेत्रबाट कम मत पाएका थिए ।
यस्तै, गोल्छाले एसोसिएट्स र द्विराष्ट्रियबाट खसेको सदर ६ सय २७ मतमध्ये ५ सय ४ मत पाएका थिए । प्रधानले भने एक सय २३ मत मात्र पाए । मुलुक कै प्रख्यात व्यापरिक घरना गोल्छा समूहको हंशराज हुलास चन्द एन्ड कम्पनीको नेतृत्व गरिरहेका गोल्छाले सोही कारण अत्यधिक मतले विजयी हुने अवसरसमेत पाएका छन् ।
महासंघको तीन उपाध्यक्षमध्ये जिल्ला, नगरमा प्रधान समूहका प्रमोद श्रेष्ठ र वस्तुगतमा गोल्छा समूहका उमेशलाल प्रधान निर्वाचित भएका छन् । एसोसिएट्स उपाध्यक्षमा भने यसअघिनै चन्द्र ढकाल निर्विरोध निर्वाचित भइसकेका थिए । यस्तै, कार्यकारिणी सदस्य पदमा समेत गोल्छा समूहको बाहुल्यता भएको छ ।

प्रतिक्रिया