काठमाडौं । अरूलाई राम्री बनाउने उर्मिला बस्नेतको पेसा हो । नौ वर्षदेखि युएईमा ब्युटिपार्लरमा काम गरिरहेकी चारआली झापाकी उर्मिलाको दैनिकी अरू महिलालाई ब्युटी बनाउँदै बित्ने गर्छ । अरूलाई राम्री बनाउने धुनमा उनलाई आफ्नो सुन्दरताबारे हेक्का भएकै थिएन तर, उनको पहिलो म्युजिक भिडियो सार्वजनिक भएपछि उनको सुन्दरता र अभिनय क्षमताको उद्घाटन भएको छ । साथीसंगीले उनको सुन्दरताको बयान गर्दै कलाकारिता गर्न सुझाव दिए पनि गायनबाहेक उनले मोडलिङबारे सोचेकी पनि थिइनन् । झापाली समाजमा आबद्ध भएपछि उनले मञ्च पाइन् । समाजका सांस्कृतिक विभागका संयोजक पारस लामाले उनलाई गायनमा सहयोग गरेकै थिए । समाजका हरेक कार्यक्रममा एकल तथा कोरस गायन दुबैमा उनको सहभागिता बढ्दै गयो । उनमा सुशुप्त अवस्थामा रहेको गायनप्रतिको रहरहरू जाग्दै गए । पछिल्लो समयमा उनले गायनमा आफूलाई सुधार्दै लगेकी छन् । युएईका नेपाली कार्यक्रमहरूमा आफ्नो प्रस्तुति भने दिइरहेकै छन् ।
उनै उर्मिलाले युएईमा रोजगारीकै क्रममा गायिका कला राईको ‘लुक्स’ एल्बममा रहेको ‘युके हङकङ कोरिया’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छन् । गत साता युट्युबमार्फत सार्वजनिक भएको उक्त भिडियोले उर्मिलाको सुन्दरता र अभिनय प्रेमलाई जीवन्त राखेको छ ।
गायिका राईको उक्त आधुनिक गीतले वैदेशिक रोजगारीको कथा र व्यथालाई मार्मिक शब्दहरूमार्फत पोखेको छ । युके, हङकङ, कोरियाजस्ता मुलुकमा रोजगारीका लागि गएका आफ्ना जीवनसाथीको पर्खाइमा बस्ने सयौं नेपाली दिदीबहिनीको वर्तमान यथार्थतालाई म्युजिक भिडियोले समेटेको छ । साथै उनीहरूलाई सम्झाउँदै ‘पैसा सबैथोक होइन, जसले मनको रहर किन्न सक्दैन, बरु स्वदेशमा पसिना पोखे सुन फल्छ’, भन्दै मातृभूमि फर्कन उनले आग्रह गरेकी छन् ।
सफल गायिका कला राईको स्वर तथा शब्दमा रहेको उक्त आधुनिक गीतमा वरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको छ भने केशव कटुवालले म्युजिक भिडियोको निर्देशन गरेका छन् । राम गुरुङद्वारा युएईका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको म्युजिक भिडियोमा दुर्गा क्षेत्री, दीपक बस्नेत र उर्मिला बस्नेतले जीवन्त अभिनय गरेका छन् ।
प्रतिक्रिया