प्रधानमन्त्रीद्वारा आँखा अस्पतालको प्रशंसा

काठमाडौं । नेपालको जेठो अस्पतालको रुपमा रहेको नेपाल आँखा अस्पतालले ४३औँ वार्षिकोत्सव मनाएको छ । देशमा अन्धोपनको निवारणका लागि केही समाजसेवीले सो अस्पताल स्थापना गरेका हुन् । अस्पतालद्वारा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले जनस्तरबाट सञ्चालित यो अस्पतालले गरिब, विपन्न, वृद्ववृद्वा, दिनदुःखी र असहाय वर्गको आँखाको उपचार गरी प्रशसंनीय काम गरेको बताए ।
उनले भने, ‘देशकै ऐतिहासिक अस्पतालको रुपमा रहेको यो अस्पतालले देशमा दक्ष नेत्रविज्ञ तथा नेत्र सहायक उत्पादनमा पनि देशलाई सहयोग गरेको छ आँउदा दिनमा पनि आफ्नो योगदानको दायरालाई अझ विस्तार गर्दै पछाडि पारिएका सीमान्तवृत वर्गलाई सेवा पु¥याउने विश्वास लिएको छु ।’
उनले अस्पतालको गुठीसम्बन्धी समाधान गर्न हरसम्भव प्रयास गर्ने प्रतिवद्वता पनि व्यक्त गरे । अस्पतालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले अस्पतालको स्वास्थ्य प्रगति मुूल्यांकन गर्दै सरकार र समुदायबीचको साझेदारीमा जान कुनै व्यक्ति, दलले नाफा पाउने कुराको बन्देज कानुनले गर्नुपर्छ भने ।
अध्यक्ष मैनालीले नेपालमा आँखासम्बन्धी अनुसन्धान हुनजरुरी भएकाले सरकारले अनुसन्धान केन्द्रको स्थापना गर्न माग गरे । वार्षिक एक लाख बिरामीले यस अस्पतालबाट सेवा लिने गरेका छन् । आव २०७२÷ ७३ मा ९९ हजार दुई सय आठ बिरामीले बहिरंग सेवा लिएका छन् । तीमध्ये मोतिविन्दु, रेटिना, अकुलोप्लाष्टि, ग्लुकोमा, डेडो आँखा सर्जरी र माइनर शल्यक्रिया गरी चार हजार दुई सय ७० जनाले शल्यक्रिया सेवा लिएका छन् ।
अस्पतालले ८० वर्ष नाघेका बिरामी, अपांगको शल्यक्रियामा २५ प्रतिशत छुट गरेको छ भने गरिब बिरामीलाई सहुलियत उपचार गर्दै आएको छ ।

प्रतिक्रिया