कथा ः एसएमएसको स्वाद

केहीवर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबाइल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नुपर्ने मान्यतामा थिए । तर, आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूलेसमेत घरमा मोबाइल, टेलिभिजन आदिको जोहो गर्नै प¥यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनुपर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबाइलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाडपर्वहरूमा मोबाइलबाट आफ्ना साथीहरू, संस्थाहरू र इष्टमित्रहरूलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरू आउने गर्दछन् ।
तर, यिनै छोटा सन्देशकै कारणबाट उनी पछिल्ला केही दिनदेखि निकै नै व्याकुल छन् । उनी अर्थात् समाजका एक सामान्य प्रतिष्ठित व्यक्ति रूपकमान । उनलाई लब्धप्रतिष्ठितै चाहिँ ता नभने पनि हुन्छ । सामाजिक सेवा गर्छन्, साहित्य, कला र राजनीतिमा पनि अलिकति चासो राख्छन् । यसैकारण उनले निकै व्यस्त हुनुपरेको छ । यस व्यस्तताको कारणले नै उनलाई मोबाइल चाहियो । पहिले ता उनलाई मोबाइलको आवश्यकता नै नपर्ने अठोट थियो तर केही पछि भने उनलाई यो नभई नहुने अवस्था आइपुग्यो । अनि उनले पनि जोडे एउटा मोबाइल परिवारका अरू सदस्यहरूका साथ । मोबाइल के जोडे तनाव पनि जोडिएको अनुभूति भएको छ केही दिनदेखि उनलाई ।
मोबाइल मात्र होइन उनले अहिले आफ्नै बुद्धिको कारणले मनभरिको पीडा पनि जोडेका छन्, छटपटी र तनाव पनि आफूभित्र हुलेका छन्, दोधारको भुँवरी पनि जोडेका छन्, एउटा तुफान पनि पालेका छन् । कहिलेकाहीँ उनको मोबाइलमा पनि अरूकै जस्तो गरी कुनै अज्ञात नम्बरबाट फोन आउँछ । उनी उठाउँछन्, उताबाट कसैकसैको आवाज पनि आउँछ, उनका साथ केही नबुझेझैँ गरी सोध्छ पनि, उनी केही उत्तर पनि दिन्छन् । अपरिचितका हुन्छन्, केही कलहरू झुक्किएर आएका होलान् भन्ने लाग्छ उनलाई । उनी पनि त झुक्किन्छन् । धेरैजसो आफन्तहरूबाट र उनका सामाजिक कार्यकर्ताहरूबाट नै उनलाई फोन आउँछ । यस अर्थमा उनलाई यसबाट फाइदै पनि भएको छ । तर, कति कलहरू उनका अपरिचितहरूबाट पनि आएका छन् ।
यसै क्रममा उनको मोबाइलमा एक दिन एउटा अज्ञात नम्बरबाट फोन आयो । आवाज महिलाको थियो । अलिक छिचरो थियो । उनले विनयपूर्वक ‘तपाईंले गल्ती नम्बरमा फोन गर्नुभो, सही नम्बरमा फोन गर्नुहोस् न है ! भनेर फोन काटिदिए । फेरि एकै छिनमा त्यही नम्बरबाट अर्काेपटक फोन आयो । त्यसपटक पनि उनले अघिकै कुरामा थपेर भने, ‘तपाईंले अघि पनि यसै नम्बरमा फोन गर्नुभो, गल्ती नम्बरमा फोन गर्नुभो क्यारे, सही नम्बरमा फोन गर्नुहोस् न है बहिनी’ ।
‘मैले खोजेको सही नम्बर नै यही हो । मैले खोजेको मान्छे नै तपाईं हो ।’ उताबाट महिलाको आवाज आयो । रूपकमानलाई यस भनाइले अलिकति झट्का लाग्यो, अलिकति धक्का पनि लाग्यो । उनले तैपनि संयमित हुँदै भने, ‘के तपाईं मलाई जिस्क्याउन खोज्दै हुनुहुन्छ ?’
‘आमा हो, कति मीठो बोली, गाली पनि यस्ता मीठा शब्द र बोलीबाट हुने भए ता जीवन सफल हुने थियो । आफ्नो ता कर्मै खोटो !’ उताबाट महिलाको आवाज अँझै अघि पुगेर कुरा गर्न हतारिएको बुझिन्थ्यो । अनि, रूपकमानले यो फोनलाई धन्यवाद भन्दै काटे । यो फोन आउने घटना यति नै भएको थियो त्यति बेला । तत्कालका लागि यसभन्दा बढी कुनै घटना भएको थिएन । यसबाट उनलाई ठूलो तनाव केही पनि भएन । आ आइरहन्छन् नि नकच्चरीहरूका फोनहरू । उनले सोचेका थिए । तर, भोलिपल्ट यसै नम्बरबाट निकैपटक मिसकल आयो । उनले वास्तै गरेनन् । फोनलाई साइलेन्ट मोडमा राखे । साँझपख नेपालीमै लेखिएको सन्देश उही नम्बरबाट उनको मोबाइलमा आयो, सन्देश निकै लामो थियो, ‘मेरो प्रिय साथी, मीठो पप्पी । यो मेरो पहिलो पप्पी हो मेरो प्रियका लागि । दिउँसो किन फोन नउठाएको ? मैले के त्यस्तो पाप गरेकी छु र फोन नउठाएको ? फोन उठाउँदैमा म तपाईंको सर्वस्व लुटेर लान्न के रे ! आफूलाई भने कति माया लाग्छ उसलाई भने कुनै वास्तै छैन । कस्तो निष्ठुरी !’
रूपकमानले हतारहतार मोबाइलको सन्देश पढे अनि कसैले देख्यो कि भन्दै यताउता हेर्दै उक्त सन्देश मेटिदिए । उनको मनमा त्रास र अज्ञात भएको बादल एकाएक उठ्यो । कतै उनका छोराले थाहा पाएन ? कतै उनकी पत्नीले ता थाहा पाइनन् ? कतै उनकी छोरीले ता थाहा पाइन ? उनको मनमा बडो गहिरो सन्देह भयो । छोराछोरी र पत्नीले उनका मोबाइलमा आएको यो एसएमएस पढे भने के भन्लान् ? आफ्नो प्रौढ बाबुको चरित्रलाई लिएर छोराछोरीले के सोच्लान् ? हे भगवान् ! पत्नीको प्रतिक्रिया के होला ? उनको निश्चल मनमा निकै चर्कै तरंग पैदा भयो ।
राती कुन बेला हो फेरि एउटा सन्देश आएको थाहा भयो उनलाई । एउटा बहाना पारी उनले सन्देश पढे ‘गुडनाइट राजा !’ लेखिएको रहेछ । यसपछि ता उनलाई अलिक छटपटी पनि भयो । तिर्खासिर्खा नलागे पनि अलिकति पानी खाए, थाहा नपाउने गरी सन्देश मेटाए अनि मोबाइलको स्विच पनि अफ गरेर सुत्ने उपक्रममा लागे । निद्रा आएन निकै बेर । मनभरि सोचाइका लहर चलिरहे । कतिबेला हो निधाएछन् ।
यस्तो सन्देशको आगमनको क्रम दुई हप्ताजति लगातार हुँदै गयो । सुरुका दिनहरूमा यस्ता कल र सन्देशबाट उनी अलिक आतंकित हुने गरेका थिए । तर, आजभोलि उनले यसलाई पचाइसकेका छन् अनि केही मात्रामा ता आकर्षित पनि भएका छन् । नयाँनयाँ प्रविधिबाट मानिस आकर्षित हुन्छ नै । हो, वास्तवमा रूपकमानको मोबाइलमा आउन थालेका यस्ता सन्देशहरूसँगै जोडिएर आउने मायाका लवजहरूबाट रूपकमान पनि केही आकर्षित भइसकेका छन् । अझ भन्नुपर्छ उनी यस्ता कलहरू र सन्देशहरूबाट मोहित पनि भएका छन् । अनि सोच्छन् यस्तो फाइदा रै’छ यसमा अनि केटाकेटीहरू के छोडून् त मोबाइल ? एक दिन उनैले पनि सधैँ सन्देश पठाउने महिलालाई लेखे ।
‘तिमी मलाई बढी दुःख नदेऊ न ।’ उनले पठाएको सन्देश यही थियो जो अनुरोधात्मक र अनुनयात्मक थियो । त्यसपछि उनी पनि लुकीछिपी सन्देश पठाउन र मिसकल गर्नेको यात्रामा प्रवेश गरेका छन् । त्यसबाट बाहिर निस्कने इच्छा भएर पनि उनले निस्कन सकेका छैनन् । उनी आफू गलत काम गरिरहेको कुराको बोध गर्दागर्दै पनि यस बाटाबाट सफा बाटामा आउने बाटो पाइरहेका छैनन् । उनी सोच्छन् यसबाट पार पाउने उपायबारे । कसैलाई भनुँ त आफ्नै इज्जत जाने डर । झन् उनी पनि कल गर्न थालिसके । नभनून् त मनमा त्यस्तो पिर कति बोक्ने तिनले ! उनी आपैmँ सोच्छन्, मैले आपैmँ पनि अलिकति बाटो बिराएकै हुँ । यो कुरा सार्वजनिक भयो भने मैले नै बाटो बिराएर यस्तो भएको कुरा बुझ्छ समाजले पनि । कसैलाई नभनुँ त मनभरि पीडाको भुँवरी चलेको छ । के गर्छस् त ए रूपकमान ?
हुँदाहुँदा उनी पनि मिसकल र सन्देश नआउँदा खल्लो अनुभव गर्न थालेका रहेछन् । अलिकति व्यग्र पनि हुन थालेका छन् । अलिकति प्रतीक्षा गर्न पनि थालेका छन् । हो न हो मोबाइलमा केही आयो कि भनेर समयसमयमा हेरिरहन्छन् ।
एक दिन बिहानदेखि बेलुकैसम्म सन्देश आएन । मिसकल पनि आएन । सधैँ आउने गथ्र्याे मिसकल, सधैँ आउँथ्यो सन्देश, सधैँ आउँथे मीठामीठा कुराहरू, मायाका मीठामीठा कथनहरू, अनि सानासाना मुक्तकजस्ता मीठामीठा कविता वा गजलका टुक्राहरू । के भयो हँ आज ? बिरामी पो परी कि ? वा कुनै घटना दुर्घटनामा पो परी कि ? के भयो हँ त्यसलाई ? उनको मनमा बडो गहिरो शंका प¥र्याे । कतिबेला आउने हो कल, कति बेला आउने हो सन्देश ? उनी अधिर भएर पर्खन थाले । प्रतीक्षाको घडीलाई थाम्न नसकेर उल्टै उनैले कल गरे । उताको फोन स्विचअफ थियो । एक मन त बल्लबल्ल त्यसबाट मुक्त हुन लागिएछ भनेर खुसी पनि भए तर उनको अर्काे मनले के मानोस् ! उनको अर्काे मन अझ अधीर भयो । उनलाई भित्रभित्र चौ चौ भइरहेको थियो । किन होला आज एकपटक पनि सन्देश प्रवाहित भएन, के परेछ कुन्नि ? किन फोन पनि अफ गरेको होला ? उनको मन यही सोचेर उनैलाई समेत चञ्चल पारिरहेको थियो । उनका मनभरि यो बाहेकका अरू कुराहरू पनि खेलिरहेका थिए । मन तरंगीत थियो । छाती केही भारी पनि भएको थियो । केही ऐंठन भएकोजस्तो भान उनलाई भइरहेको थियो ।
केही पछि उनले तर्कसहित निर्णय गरे, फोनै बन्द गरेपछिलाई अब के कुरा रह्यो र ? के परेर फोन बन्द भएको होला ? बरु सोध्न पाए पनि हुन्थ्यो । केही कुरा गर्नै पाए पनि हुन्थ्यो । आखिरी कुरै ता हुन्, के लछारपाटो लाग्ला केही कुराहरू गर्दैमा । बिहे गरेका मान्छेले चैं कुनै आइमाइसँग कुरै गर्न नहुने भन्ने के छ हँ ? उनको मन अलिकति कडो भएझैँ भएर फोनै गर्न तम्सियो । तर कडो भएको त्यो मनको कठिनता पानीको फोकोझैँ तत्काल फुटेर बिलायो उनको व्यावहारिक स्थितिबोधका अघि । परिवारले यो सबै कुरा थाहा पायो भने उनको के हविगत होला ? यही कुरा सोचेर उनको त्यो मन तरलित भयो । फोन नआए पनि हुने, सन्देशहरू नआए पनि हुने भन्ने भाव मनमा कताकता लुकेर हराएको बेला र अधैर्यताका साथ प्रतीक्षा पनि गरिरहेको बेला जे त पर्ला भन्ने कडो निर्णय गरेर एकपटक फोनै गरे । फेरि पनि फोन बन्द छ । हँ के भयो त्यसलाई आज ? ए बाबा हो ? फोनै बन्द गर्नुपर्ने कारण के परेछ हँ ? उनले सोचे । अझै सोचे, मजस्तै लुकीलुकी फोन गर्थी क्यारे । परिवारबाट पक्डाउ परी होला ! कति गाली खाई होला बिचरीले ? हो कुरा यो चैं पक्का हुनुपर्छ, कुन नाठालाई फोन गर्छेस् ए ! भनेर उसले झपार खाएको हुनुपर्छ ।
सोचाइ यस्तै भए पनि यसै सोचाइका साथ उनले निकैपटक फोन गरे । तैपनि उनले चाहे जसरी फोन गएन । अनि सोचे बढार्नै परेन, हावाले आफैँ उडाएर लगेछ । एक किसिम राम्रै पो भयो । कताकता सन्तोकको सास फेरे र आफ्नो काममा लागे ।
राती फोन नबज्ने पारेर सुत्ने बानी भएकाले उनले फोनलाई साइलेन्ट मोडमा राखे । अनि आरामका साथ सुत्ने चेष्टा गरे । तर, कताकता आशाको त्यान्द्रो चुँडिएको थिएन । एकप्रकार प्रतीक्षारत पनि थिए । त्यसरी प्रतीक्षा गरिरहेकै बेला बल्ल एउटा म्यासेज र एउटा मिसकल आयो उनको मोबाइलमा । बल्लबल्ल उनको प्रतीक्षाको महाभारत सकियो । अनि उनले कुनै बहाना पारेर सन्देश पढे । सन्देशले दिनभरि नेटवर्क नभएर एक कल गर्न पनि नसकेकोमा क्षमा मागिएको रहेछ । उनलाई अहिले बल्ल ढुक्क भएको छ । बल्ल उनलाई निद्रा लागेको छ । अनि उनका मनमा के गरौँ र कसो गरौँको दोधारको जो ओइरो लागेको थियो त्यो क्रमशः हराएर गएको छ । मनभरि द्वन्द्वको चक्रवात नै आएको थियो त्यो पनि हटेर गएको छ । हेरौँ रूपकमानका मोबाइलको मिसकल र सन्देश यात्राको लाइभ टेलिकास्टको अन्त कसरी हुने हो । उनीहरूको यो क्रम चालु भएकोले अन्त कसरी हुने हो हामीले पनि उनैले जस्तो गरी प्रतीक्षा गर्नैपर्छ ।

प्रतिक्रिया