निर्माण सुरु भएको सात वर्ष पुग्दा पनि बनेन अस्पताल

कैलाली । सात वर्षअघिदेखि निर्माण सुरु गरिएको कैलालीको अत्तरीयास्थित मालाखेती अस्पतालको भवनको निर्माण अझै सकिएको छैन । भवन समयमा नबन्दा कर्मचारी र सेबाग्राही मर्कामा परेका छन् । निर्माण कम्पनीको लापर्वाहीका कारण निर्धारित समयमै अस्पतालको भवन निर्माणको काम नसकिँदा समस्या थपिएको हो । करिब दुई वर्षअगाडि स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी अस्पताल बनाएको भए पनि भौतिक संरचनाको अभावमा सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।
भवन अभावका कारण अस्पताल स्तरोन्नती भएको दुई वर्षसम्म पनि स्वास्थ्यचौकीकै सेवा दिनुपरेको तथा ०६६ सालमा पाँच वर्षभित्र मालाखेती अस्पताल भवन निर्माण गर्नेगरी कोसी एन्ड न्यौपाने शिवशक्ति जेभी निर्माण कम्पनीले सम्झौता गरे पनि काम पूरा अझै नभएको मालाखेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत खडकाले बताए । अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयसम्म बिरामी आउने गरेका भए पनि भवन अभावका कारण गुणस्तरीय सेवा दिन नसकिएको अस्पतालकी प्रमुख डाक्टर दीपा जोशीले बताइन् ।
उनले कोठा अभावका कारण सिकिस्त बिरामीहरूलाई भर्ना गरेर राख्न नसकिएको तथा कर्मचारीका लागि आवास नहँुदा दैनिक काम गर्न समस्या भएको बताइन् । अस्पतालमा प्रर्याप्त कोठाहरू नहुँदा ल्याब, एक्सरेलगायत उपकरणहरू सुरक्षित तरिकाले सञ्चालन गर्न नसकिएको तथा तारबार र पर्खाल नभएका कारण स्थानीयवासीका घरपालुवा चौपायाहरू समेत अस्पतालभित्र छिर्ने गरेको उनले बताइन् ।
झन्डै सवा दुई करोडको लगानीमा निर्धाणाधीन तीन तले भवनको भौतिक संरचना नभएकै कारण ०७१ सालमा काम पूरा हुन नसकेपछि निर्माण कम्पनीले ०७३ साल साउनसम्म भवन निर्माण पूरा गरिसक्ने गरी म्याद थप गरेको थियो । तर, साउनसम्म पनि काम पूरा नहुने भएपछि पुनः ९० दिनको म्याद थप गरेको जनाइएको छ । सो मितिभित्र पनि काम पूरा नभएपछि असारमसान्तभित्रै निर्माण गरिसक्ने निर्माण कम्पनीको दावी छ । तर, कम्पनीले भनेको समयमा काम सक्ने कुरामा स्थानीयको आशंका छ । तीन वर्षअगाडि सरकारले १५ बेडको अस्पतालको स्वीकृति दिएको भए पनि भवन अभावकै कारण चौबिसै घन्टा इमरजेन्सी सेवा दिन नसकिएको अस्पतालको भनाइ छ । साविक मालाखेती गाविसको कार्यालय भवन र स्वास्थ्यचौकीको प्रयोजनका लागि बनेका पुराना भवनमा मालाखेती अस्पताल अहिले सञ्चालनमा रहेको छ । मालाखेती अस्पतालमा दैनिक विभिन्न किसिमका दर्जनाँै बिरामी आउने गरेका छन् भने अस्पतालले हाल एम्बुलेन्सलगायतका सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया