काठमाडौं । फिल्मप्रतिको लगावकै कारण दीपेन्द्र लामाले फिल्म समीक्षा, भिडियो निर्देशन, पटकथा लेखन हुँदै निर्देशनसम्मको यात्रा तय गरेका छन् । उनको निर्देशनमा नयाँवर्षकै साइत पारेर सार्वजनिक हुने ‘घामपानी’ बारे यतिखेर दर्शकमा चासो बढेको छ ।
यसै सन्दर्भमा उनीसँग भलाकुसारी सुरु गर्नासाथ उनको स्मृतिको सुई एकदशक पछाडि धकेलियो । ०६३ सालमै उनले फिल्मका लागि भनेर पटकथा लेखेका रहेछन् । त्यो पटकथा उनले नवीन सुब्बा र अनुप सुवेदीजस्ता ‘घगडान दाइ’ हरूलाई देखाए । उनीहरूले मन पराए । तर, लगानीकर्ता नपाएपछि उनको पटकथा त्यत्तिकै थन्कियो । एक÷दुई जनाले सहयोग गर्न नचाहेका हैनन्, तर त्यो पर्याप्त भएन ।’ सुरुमा केही निराश भए पनि उनले ‘ठीकै छ, ढिलै भए पनि राम्रै फिल्म बनाउँछु ।’ भनेर चित्त बुझाए । फिल्मबारे घोत्लिने क्रम चलिरह्यो ।
यसबीच उनको पटकथामा ‘नागबेली’ फिल्म बन्यो । तर, फिल्म आए गएको धेरैलाई पत्तै भएन । त्यस फिल्ममा आफ्नो भागको कमजोरी स्वीकार्न उनी बाध्य भए । कमजोरीबाट सिक्दै आफ्नो कथा आफैँ पो राम्ररी भन्न सकिन्छ कि भनेर उनी फेरि जुर्मुराए । ‘घामपानी’ यसकै उपज हो ।
दीपेन्द्र पत्रकारका रूपमा फिल्मबारे रिपोर्टिङ गर्न कयौँपटक सुटिङ स्पट पुगेका थिए । धेरै निर्देशक, कलाकार र क्यामेरा चलाउनेहरूको सबल र कमजोर पक्षबारे उनी जानकार थिए । उनलाई आफू स्वयं पनि अध्ययन र अवलोकन दुबै पक्षमा बलियो छु भन्ने लाग्थ्यो । तर, जब घामपानीको सुटिङ सुरु भएको पहिलो दिनमै सिनेमेटोग्राफर शैलेन्द्र डी कार्की रिसाए, उनी रनभुल्लमा परे ।
दीपेन्द्रले फिल्मका लागि पाँच जना सहायक निर्देशकको सहयोग लिएका थिए । तर, कुन दृश्य पहिला र कुन पछि खिच्ने भन्नेबारे उनीहरूबीच पर्याप्त छलफल भएको रहेनछ । कार्की कड्केछन्, ‘भोलिदेखि के काम गर्ने भनेर पहिल्यै निर्णय गरेर आउनु, नभए सुटिङ हुँदैन । डाइरेक्सन डिपार्टमेन्टले स्पटमा आएर आज कुन सिन खिच्ने भनेर छलफल गर्ने होइन ।’
यो घटनाले दीपेन्द्रलाई निर्देशकले कलाकारको टेम्पारामेन्ट र मनोविज्ञान बुझ्नु कति जरुरी छ भन्ने बोध गरायो । त्यसपछि उनी कोसँग कसरी काम गर्ने भनेर चनाखो बने । मसिना कुराहरूमा समेत सचेत भएर संयोजकका रूपमा समेत चुस्त भए । पहिलो दिनको तनावले पाठ सिकाएको भन्दै ठट्टा गरे, ‘कलाकार वा टेक्निसियन रिसाउँदा पनि रमाइलै हुँदोरैछ ।’
यसै प्रसंगमा उनले नायिका केकी अधिकारीसँग जोडिएको घटना पनि सुनाइहाले ।
सिन्धुलीमाढीको बसपार्कमा सुटिङ रहेछ । बसबाट ओर्लेको सट आठ÷नौ चोटी खिचिसक्दा पनि पुनः खिच्नुपर्ने भएपछि केकी रिसाइछन् । केकीको गल्तीले नभएर बसबाट झर्नुपर्ने अन्य यात्रुको लुक्स र कन्टिन्युटी नमिल्दा केकीलाई झर्को लाग्नु स्वाभाविक थियो । झर्किंदै भनिछन्, ‘म पो प्रोफेसनल कलाकार, प्यासेन्जरबाट पर्फेक्ट काम लिन कहाँ सकिन्छ र ?’
दीपेन्द्रसँग कलाकार रिसाएका कुरा मात्रै थिएनन् । रोचक प्रसंग पनि रहेछन् । एक जना पात्रलाई धेरैपटक रिटेक लिनु परेपछि उनी केहीबेर हराएछन् । फर्केर आएपछि त पर्फेक्ट अभिनय गरेछन् । यसको रहस्य थाहा पाउन दीपेन्द्रलाई धेरै दिन लागेछ । हाँस्दै भने, ‘हामीले सुटिङ गर्ने तामाङको घरमा गएर टुच्च लोकल पिउनेरै’छन् । पिएपछि काम पनि गज्जब गर्ने ।’
यी र यस्ता अनेक घटनाले दीपेन्द्रलाई सिकाएको कुरो भने गहन छ । गम्भीर मुद्रामा भने, ‘सैद्धान्तिक ज्ञानका लागि किताब पढे झैँ प्रयोगात्मक ज्ञानका लागि त मान्छेको मन पनि पढ्न सक्नुपर्ने रहेछ ।’ यही बुझाइले जतिजति फिल्मको काम अगाडि बढ्दै गयो, उनलाई हरेक कलाकारबाट अझ बढी काम लिन सकिने रहेछ भन्ने लागिरह्यो । तैपनि, कलाकारहरूको अभिनयलाई उनले घामपानीको सबैभन्दा सबल पक्ष मानेका छन् ।
दयासँग दीपेन्द्रको चिनाजान पुरानै हो । यसले फिल्मको पटकथादेखि कुनै दृश्यमा कलाकारको प्रवेश र निष्कासन (ब्लकिङ) कसरी गर्नेसम्मका कुरामा फाइदा भएको दीपेन्द्र बताउँछन् । दयाले फिल्ममा भूमिका शिक्षकको भूमिका निभाएका छन् । पछिल्ला धेरै फिल्ममा ‘लाउड’ र ‘जोकर’ का रूपमा उतारिएका दयालाई दीपेन्द्रले सरल र सफ्ट देखाउने प्रयत्न गरेका छन् । यसबारे थपे, ‘दयाको कामबाट पहिल्यै प्रभावित थिए । उसको नाटक ब्याकग्राउन्डले काम गर्दा धेरै कुरामा सहयोग मिल्यो ।’
आफ्ना दृश्यमा आफूसँगै अन्य कलाकारको संवाद र अभिनयप्रति सचेत रहने केकीको स्वभावबाट पनि उनी प्रभावित भएछन् । गाउँमा बस्दाबस्दै अर्को रोचक घटना भयो । दया बस्ने घरकी छोरी देवी थिइन् । घामपानीकी हेयर ड्रेसरको नाम पनि देवी । सुटिङ सकिने बेलातिर दुवै देवीबीच रित पु¥याएर मीतसमेत लगाइदिएछन् । औपचारिक रूपमा गाउँछिमेक बोलाएर सानोतिनो भोज नै भएछ । समीक्षकका रूपमा दीपेन्द्रले लामो समयसम्म अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा देखाउने स्तरका फिल्म बनाइनु पर्ने वकालत गरिरहे । त्यसबेला उनलाई साथीहरू ‘यसले फिल्म बनायो भने पक्कै अन्तर्राष्ट्रिय फेस्टिभलमा देखाउने खालकै बनाउला’ भन्थे । उनी आपैmँलाई पनि कताकता त्यस्तै लाग्थ्यो ।
तर, उनको ‘घामपानी’ भने स्थानीय बजार र डायस्पोराका नेपाली लक्षित फिल्म हो । धेरैको अनुमान विपरीत उनले मूलधार वा व्यावसायिक फिल्म रोज्नुको पछाडि उनीसँग आफ्नै खालका तर्क छन् । जुन बेला उनी यसबारे ‘लबिङ’ गर्थे, त्यो बेला कालो पोथी र सेतो सूर्यजस्ता ठूला फेस्टिभलमा प्रदर्शन हुने फिल्म बनेकै थिएनन् ।
राजेश हमाल, रेखा थापा, निखिल उप्रेतीका फिल्महरूको बोलबाला थियो । अहिले माहोल फेरिँदो छ । नेपालभित्रै पनि दर्शकले पुरानालाई अस्वीकार गरेर रामबाबु गुरुङ, निश्चल बस्नेत, दीपेन्द्र के खनालजस्ता नयाँ पुस्ताका फिल्म मन पराएका छन् ।
यही सन्दर्भलाई जोड्दै उनी भन्छन्, ‘नेपालमै नयाँ पुस्ताका फिल्म हेर्ने जमात बनिसक्यो । हामीलाई अहिले लोकल मार्केटमै चल्ने खालका तर राम्रो कन्टेन्ट भएका फिल्मको खाँचो छ ।’ कुनै लेख होस् चाहे फिल्म, त्यसले मान्छेको बुझाइमा पुनर्विचार गर्न सघाओस् भन्ने दीपेन्द्रको पुरानै आग्रह हो । यहीँ मत र आग्रहका कारण व्यावसायिक भए पनि घामपानीमार्फत उनले अन्तर्जातीय प्रेमलाई कथा बनाएर सामाजिक विषयलाई जोड्ने प्रयास गरेका छन् । हल छिरेका दर्शकलाई दुई घन्टा बाँधेर राख्ने मात्रै नभई समाजभित्रकै विषयबारे केही न केही प्रभाव परोस् भन्नेमा पनि उनले ध्यान दिएको उनको दाबी छ ।
यसबारे हिन्दी फिल्म पिकेको उदाहरण दिँदै भने, ‘व्यावसायिक भए पनि हिन्दी फिल्म पिकेले धर्मप्रतिको धारणामा प्रश्न गर्न मद्दत गरेको थियो । घामपानी हेरिसकेपछि दर्शकले समाजमा विद्यमान जातीय विभेदको विषयमा पुनर्विचार गर्छन् भन्ने अपेक्षा छ ।’ वर्तमान समयमा मानिसहरू स्वेच्छाले होस् वा बाध्यताले गाउँदेखि टाढा भइरहेका छन् । गाउँदेखि जति टाढा भयो, गाउँको स्मृति उति प्यारो हुनु स्वभाविक हो । गाउँसँग जोडिएका कुरा धेरैलाई प्यारो छ । घामपानी दर्शकको यही मनोविज्ञानलाई पक्रने प्रयास गरेको उनको दाबी छ ।
घामपानीको सुटिङका लागि तामाङ बस्ती नै चाहिन्थ्यो । भूकम्पका कारण सिन्धुपाल्चोक, दोलखा, नुवाकोटका तामाङ गाउँ क्षतिग्रस्त थिए । खोज्दै जाँदा सिन्धुलीको भद्रकाली, निबुवाटार गाउँ पुग्यो घामपानी समूह । संयोग कस्तो भने, पोखरापछि सबैभन्दा बढी पानी पर्ने ठाउँ सिन्धुली रहेछ । गाउँलेहरूले बारम्बार भन्थे रे, ‘तपाईंहरूको फ्लिम पनि घामपानी, हाम्रो गाउँ पनि घामपानी । कहिले घाम, कहिले पानी । कस्तो मिलेको !’दीपेन्द्रलाई अरू फिल्ममा जस्तो विपी राजमार्ग खिचेर सिन्धुलीमा सुटिङ गरेको भन्नु थिएन । जापानी सहयोगमा बनेको राजमार्गका दृश्यमा सिन्धुली र नेपाली ग्रामीण भेकको टिपिकल अनुहार कहाँ देखिन्थ्यो र ? यस्तै मसिना कुरामा चनाखो भएर उनले पात्र र परिवेशमा प्रशस्त मिहिनेत गरेको दाबी गरे ।
प्रतिक्रिया