बलात्कारका मुद्दामा फरकफरक सजाय !

लिबाङ । नाबालिका जबर्जस्ती करणी गर्ने तीन जनालाई जिल्ला अदालत रोल्पाले फरकफरक मितिमा फरकफरक कैद सजाय तोकेकोे छ ।
जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले यी सबै मुद्दाको फैसला गरेको अदालतका डिठ्ठा भीमराज ढकालले जानकारी दिए ।
६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने राङ्सी–६ रोल्पाका १९ वर्षीय अर्जुन घर्तीमगरलाई सोमबार जिल्ला अदालत रोल्पाले ६ वर्ष कैद सजायको फैसला गरेको छ । २९ पुस ०७३ मा विद्यालय गएकी बालिकालाई बाल शिक्षाको कक्षामा विद्यालय समयमा बिहान ११ बजे कोही नभएको मौका पारी घर्तीमगरले जबर्जस्ती करणी गरेपछि बालिका रुँदै कराउँदै घर गएकी थिइन् ।
बालिकाकी आमाले तत्काल विद्यालयमा पुगी यस विषयमा उजुरी गरिन् । तैपनि, बालिका पटक्कै विद्यालय जान मानिनन् । त्यसपछि पीडितकी आमामार्फत २४ पुस इलाका प्रहरी कार्यालय घर्तीगाउँ, रोल्पामा जाहेरी प¥यो । प्रहरीले यस विषयमा व्यापक खोज अनुसन्धान गरी ११ माघ सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरायोे । विद्यालयकी शिक्षिका बिदामा रहेका कारण आफ्ना भाइलाई सट्टा शिक्षकको रूपमा विद्यालय पठाएको र भाइले नै विद्यालय समयमा बालिकालाई ललाइफकाइ जबर्जस्ती करणी गरेको पुष्टि भएपछि जिल्ला अदालत रोल्पाले कैद सजाय तोकेको हो ।
यस्तै, गाउँकै साढे दुई वर्षीया बालिका जबर्जस्ती करणी उद्योग गर्ने गैरीगाउँ–६ रोल्पाका ६३ वर्षीय गंगाबहादुर बाँठागमरलाई पनि ६ वर्ष कैद सजाय हुनेगरी फैसला भएको छ । ती अबोध बालिकाकी आमाले १३ मंसिर ०७३ मा सासूको जिम्मामा छोरीलाई घरमा सुताएर घाँस काट्न गएकी थिइन् । सासू घरको काममा ब्यस्त भएका बेला बाँठामगरले बालिकाको हातमा बिस्कुट दिई ललाइफकाइ आफ्नो कोठामा लगेको जाहेरीमा उल्लेख छ । यसरी कसैलाई जानकारी नदिई सुटुक्क लगिएकी बालिकाको शरीर र योनीमा तेलको प्रयोग गरी जबर्जस्ती करणी गर्न खोजेपछि बालिका निकै रोइकराइ गरिन् ।
यसरी बालिका निकै जोडले रोएको पीडितकी आफन्तले सुनेपछि नग्न अवस्थामा रहेका बाँठामगरको हातबाट बालिकालाई खोसेर लगेको प्रत्यक्षदर्शीको जाहेरीमा उल्लेख छ । यसरी लगिएकी बालिकाको शरीरमा घाउचोटसमेत लागेको थियो । त्यसपछि पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय रोल्पामा जाहेरी दिएका थिए ।
प्रहरीले अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको थियो भने सरकारी वकिलको कार्यालयमार्फत ३ पुस ०७३ मा जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता भएको थियो । पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तलाई गतः १७ चैतमा ६ वर्षका लागि कैद सजाय तोकिएको हो ।
यस्तै, ५ वर्षीया बालिका जबर्जस्ती करणी गर्ने मिरुल–३ रोल्पाका खिउटे भन्ने १८ वर्षीय राजकुमार बुढामगरलाई जिल्ला अदालत रोल्पाले १४ वर्ष कैद सजाय तथा अभियुक्तबाट बालिकालाई ५० हजार क्षतिपूर्ति दिलाउने गरी फैसला गरेको छ ।
बुढामगरले गाई चराउन गएकी नाबालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा असहज भएपछि स्याम्पुको प्रयोग गरेका थिए । बालिका निकै रोइन् कराइन् तर उम्कन सकिनन् । उनी जबर्जस्ती करणीको सिकार बनेरै छोडिन् । घटना भइसकेपछि बालिका रुँदै कराउँदै घर पुगिन् । पीडित बालिकाका बुबामार्फत ९ माघ ०७३ मा इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी प¥यो । उनले कानुनबमोजिम पीडकलाई कारबाही गरी पाउँ भनी निवेदन दर्ता गराए ।
त्यसपछि प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गराएपछि व्यापक खोजतलासपछि अभियुक्तलाई सजाय तोकिएको हो । यसरी कैद सजाय भोग्ने सबैलाई प्रहरीले नियन्त्रणमा लिई पुर्पक्षका लागि थुनामा राख्दै आएको थियो । घर, आँगन, गोठ, धारा पँधेरा, विद्यालय, घाँस दाउरा जाँदा जुनसुकै स्थानमा पनि बालिका तथा महिलालाई स्वतन्त्रता छैन जसका कारण उनीहरू हिंसाको सिकार बनिरहेका छन् ।
यसरी जबर्जस्ती करणी गर्ने वा उद्योग गर्ने जोकोहीलाई पनि या त आजीवन कारागारमा थुनामा राख्नुपर्ने या मृत्युदण्ड दिने व्यवस्था हुन सके मात्र यस किसिमका घटना रोकिन सक्ने भएको हुँदा यस विषयमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने स्थानीय पविता सुवेदीले बताए । अभियुक्तले जतिसुकै सजाय पाए पनि पीडितलाई न्याय नहुने गजलु–६ रोल्पाका रीता देवकोटाले बताइन् । उनका अनुसार यस किसिमका घटना नियन्त्रणमा आए मात्र महिलाले न्याय पाउनेछन् । यस किसिमका घटनाको अन्त्यका लागि सर्वप्रथम समाजमा महिला र पुरुषबीचको विभेद अन्त हुन जरुरी छ । समाजले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा सम्झँदासम्म कुनै हालतमा घटना न्यूनीकरण हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया