काठमाडौं । स्टोरी साइकल, अमेरिकाको फोर्ट वर्थ कला केन्द्र र क्राफ्टेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सास राज्यको फोर्ट बर्थमा ३ हप्ते नेपाल शो २०१७ आयोजना हुने भएको छ । शोमा नेपाली कलाकारहरुले तयार पारेका चित्रकला, हस्तकला र फोटोे प्रदर्शनी हुनेछन् । आगामी साता रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले ‘शो’को उद्घाटन गर्ने कार्यक्रमका आयोजक सौरभ ढकालले जानकारी दिए ।
स्टोरी साइकलले कलाका माध्यमबाट कथा भन्न सकिन्छ भन्ने प्रयोग गर्दै आएको छ । चित्रकला, हस्तकला, फोटो र भिडियोलगायतका फरक विधालाई एकै ठाउँमा प्रस्तुत गर्न शो आयोजना गरिएको बताइएको छ । प्रर्दशनीले कलाकारलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउनुका साथै नेपालको प्रचारप्रसार हुने बताइएको छ । आउँदो अप्रिल ०७ देखि २६ तारिख २०१७ सम्म सो चल्ने छ ।
प्रदर्शनीमा स्टोरी साइकलले सगरमाथा क्षेत्रमा सञ्चालन गरेका कथा शिविर र केही महिना अगाडि सिन्धुलीको दुम्जामा सञ्चालित कला शिविरमा तयार गरेका चित्रकला प्रदर्शनीमा राखिने छ । मुख्य चित्रकला सुरेम देशार, अनिल महर्जन र आरके थापाका रहने छन् । साथै तासी लामा र जुनी लामाका केही थान्का पनि प्रदर्शनमा राखिने छ ।
हस्तकलामा क्राफ्टेडइन काठमाडौंले काठमाडौंका २५ भन्दा बढी कलाकारहरुको संकलन गरेको विविध कलामध्ये केही प्रदर्शन गरिने छ । साथै जेलमा तयार गरिएका केही हस्तकला पनि यसमा सामेल गरिने छ । स्टोरी साइकलले विभिन्न ठाउँमा गरेको कथा शिविरमा जम्मा गरेका फोटोहरु प्रदर्शनमा रहने र तीमध्ये फोटो ग्राफर नवीन बरालले खिचेका लमजुङका हिमालहरुको फोटो विशेष आकर्षणका रुपमा रहनेछन् ।
त्यसमा सगरमाथा र बारपाक क्षेत्रका फोटोसमेत राखिने छन् । कथाकार सौरभ ढकालले तयार गरेको सगरमाथा आरोही आपा शेर्पा, सामाजिक उद्यमी अनिल चित्रकार, म्यागासेसे विजेता महावीर पुन, जलविद्युत प्रबद्र्धक वीरबहादुर घले, सिएनएन सुपर हिरो पुष्पा बस्नेत र साइकल यात्री पुस्कर शाहको कथा प्रदर्शनीमा प्रस्तुत गरिने छ । स्टोरी साइकलले २०१५ देखि अमेरिकामा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया