पाँचथर । पत्रकार सन्देश सुब्बाको कविता कृति ‘आगोको सौन्दर्य’ मंगलबार विमोचन गरिएको छ । कवि वीरेन्द्र तुम्बापो ‘प्रतीक’ ले पाँचथरको फिदिममा सो कृति विमोचन गरेका हुन् । कृति विमोचन गर्दै कवि प्रतीकले समकालीन नेपाली कविताको गद्य धारमा लेखिएका कविता कृतिमध्ये सुब्बाको कृति अब्बल भएको दावी गरेका छन् । लिम्बू समुदायको जीवन–दर्शन, सामाजिक न्याय, गाउँले परिवेश, राज्यप्रति उत्पीडित वर्गको आक्रोश, शहरमा गुम्दै गएको मानवीयता र प्रकृतिप्रतिको अगाध प्रेमको चित्रण सुब्बाको कवितामा रहेको उनले औँल्याए । भाषाशैली नरम तर ओजनदार भावपक्ष उनको कवितामा भएको प्रतीकको भनाइ थियो । कविको पहिलो कृति भए पनि सो कृति खँदिला कविताहरूको संग्रह भएको साहित्यकार एवं पत्रकार प्रेम ओझाले बताए । नेपाली साहित्यको कविता विधामा तन्नेरी साहित्यकारहरूको उपस्थिति कम देखिएको बेला सुब्बाको उपस्थिति दर्विलो भएको ओझाको भनाइ थियो । समालोचकहरु लक्ष्मीप्रसाद ढुंगाना, सगुन सुसारा, मधु आजिक केरुङ र राज दिलाञ्जलिले सुब्बाका कविताहरू पहिचान, स्वशासन, आत्मनिर्णय, वर्गीयता र सामाजिक न्यायको पक्षमा ओकलिएका शक्तिशाली स्वरहरू भएका टिप्पणी गरे । कृतिमा १९ वटा कविता समावेश छन् । रेडपान्डा प्रकाशनले सो कृति बजारमा ल्याएको हो । कवि सुब्बा, दोस्रो अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा प्रथम र पूर्वाञ्चलस्तरीय खुला कविता प्रतियोगितामा दोस्रो भइसकेका छन् । सोही कार्यक्रममा सर्जक जंग तामाङ ह्रिञ्जेन, नारायण थपलिया, विवश बेनाम, जुनु खतिवडालगायतले कविता र गजलवाचन पनि गरेका थिए ।
प्रतिक्रिया