बारपाकमा कृषि उपज केन्द्र निर्माण

गोरखा । ‘गोरखा भूकम्प’ को केन्द्र गोरखाको सुलिकोट गाउँपालिका–२ स्थित बारपाकमा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ । केयर नेपालले स्वाँरा सघन गाउँ विकास केन्द्र को सहकार्यमा खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत १५ लाख २४ हजार सात सय ६७ लगानी गरी भवन निर्माण गरेको हो ।
केयर नेपालका खाद्य सुरक्षा तथा जीविकोपार्जन अधिकृत लेखनाथ अधिकारीले कृषि उपज संकलन गरी केन्द्र मा भण्डारण गर्ने र बजारीकरण गर्न सहज भएपछि यहाँका किसान खुसी भएको बताए । भूकम्पपछि भूकम्पपीडितको जीविकोपार्जनमा सुधार ल्याउन तरकारीका बीउ वितरण गर्नेदेखि बेमौसमी तरकारी खेतीका लागि टनेललगायत सहयोग गरिएको केयरले जनाएको छ ।
यस्तै केयरले स्वाँरा सघन गाउँ विकास केन्द्र को समन्वयमा धार्चे गाउँपालिका–५ गुम्दामा आलुको बीउ भण्डारण गर्ने रस्टिक स्टोर भवन पुनर्निर्माण गरेको छ । जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरी निर्माण गरिएको भवनमा आलुको बीउ भण्डारण गर्ने बताइएको छ । १२ लाख ७८ हजार दुई सय ७१ लगानी गरी भवन पुनर्निर्माण गरिएको केयर नेपालका गोरखास्थित प्रमुख माधव ढकालले जानकारी दिए ।
आलु उत्पादनको पकेट क्षेत्रमा गुम्दा पर्छ । गुम्दामा बर्सेनि आलु उत्पादन भए पनि बर्खाका बेला पहिरोले कच्ची सडक अवरुद्ध गर्दा बजारीकरणमा समस्या हुँदै आएको आलु उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष कर्ण माइला गुरुङले बताए । ‘गुम्दाका हरेक घरमा दुई सय मुरी आलु उत्पादन हुन्छ,’ उनले भने, ‘यहाँको मुख्य बाली नै आलु हो । उत्पादन भएको आलु बजारसम्म झार्न सकिएको छैन ।’
रस्टिक स्टोर सञ्चालनमा आएपछि आलुको बीउ भण्डारणमा सहज हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले बताए । गुम्दामा चार सय रोपनी क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । स्थानीय शिक्षक सुनील गुरुङले बीउ, आलु र तरकारी खाने आलु भण्डारण गर्ने बेग्लाबेग्लै भवन आवश्यक परेको बताए । रस्टिक स्टोरमा भण्डारण गरेको बीउ आलु बेचेर किसानले फाइदा लिन सक्ने उनको भनाइ छ ।
केयरले गुम्दामा अलैँचीखेती बिस्तारका लागि ३० हजार अलैँचीका बिरुवा वितरण गरेको छ । यस्तै अलैँची सिँचाइका लागि ६ लाख बजेट विनियोजन गरी पाइपमार्फत पानी ल्याएर अलैँची सिँचाइ गरिने बताइएको छ । स्वाँरा सघनका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले आलु बेचेरै गुम्दाका किसानले जीविकोपार्जनमा सुधार ल्याउनसक्ने बताए ।

प्रतिक्रिया