थोरै लगानी राम्रो आम्दानी

‘जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउखेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ’ मकवानपुर पदमपोखरी–१३ की देवमाया सिन्तान च्याउखेतीको कमाइबाट आफ्नो परिवारलाई धान्न सकेकीमा खुसी छिन् । देवमायाले एकपटकमा १० लाख रुपैयाँ बराबरको परालले च्याउखेती गर्छिन् । एकपटक खेती गर्दा तीन महिनासम्म फल लाग्छ । ‘च्याउखेती गर्दा एक महिनादेखि फल्न सुरु हुन्छ र तीन महिनासम्म फल लिन सकिन्छ, एकपटक उत्पादन गर्दा पाँच लाख रुपैयाा नाफा हुन्छ’ उनले थपिन् ।
सामान्य लेखपढ मात्रै गरेकी च्याउ उद्यमी ३३ वर्षीया देवमायाले गृहिणी शिक्षामार्फत गतवर्ष एसएलसी उत्तीर्ण गरिन् । फरवार्ड नामक संस्थाबाट दुई दिनको तालिम लिएर महिला वचत तथा ऋण सहकारी संस्थाबाट डेढ लाख रुपैयाँ ऋण लिएर पाँच वर्षदेखि उनले च्याउखेती गर्दै आएकी छन् । च्याउखेतीमा सुरुमा एकपटक राम्रोसँग ध्यान दिएमा तीन महिनासम्म उत्पादन लिन सकिन्छ । फल्न सुरु भएपछि प्रतिकूल हावापानी र रोग लाग्नबाट बचाउनुपर्छ । च्याउखेतीबाट नै उनले दुई छोरा छोरीलाई पढाउन सकेकी छन् । वैदेशिक रोजगारीमा गएका उनका पति पनि अहिले च्याउखेतीमै लागेका छन् ।
मुहारमा सन्तोषको भाव देखिएकी देवमायाले थपिन्, ‘च्याउखेतीबाट राम्रो आम्दानी भएकामा धेरै खुसी छु । पैसा हातमा भएपछि हरेक काम गर्न आत्मबल बढदो रै’छ । अरू महिलालाई पनि म केही गर्न प्रेरणा दिइरहेको छु ।’ च्याउ व्यवसाय गरेर सफलता प्राप्त गरेकी देवमायाजस्तै पर्वत कुस्मा बजारकी जसमाया पुनले पनि अल्लो व्यवसायबाट राम्रो आम्दानी गरिरहेकी छन् ।
०५६ सालमा ६ महिना लघु उद्यम विकास कार्यक्रममार्फत घरेलु विकास समिति पर्वतबाट तालिम लिएर पुनले अल्लो व्यवसाय सुरु गरेकी हुन् । जसमायाले भनिन्, ‘अल्लो व्यवसायबाट राम्रोसँग परिवारको आर्थिक स्तर उकास्न सकेकामा खुसी लाग्छ । पहिला केही किन्न मन लागे पनि पैसा नहुँदा दुःख लाग्थ्यो । अहिले सानोतिनो कामका लागि कुनै चिन्ता छैन ।’ उनीसँग दुई चर्खा र दुई तान छन् । अल्लोबाट बनेको कपडाको देशभित्र मात्र होइन बाहिरबाट पनि राम्रै माग आउँछ । अल्लोबाट कपडा, कोट, पर्स, झोला, चप्पललगायत धेरै सामान निर्माण गर्न सकिन्छ । सामान्य लेखपढ मात्र गर्न सक्ने जसमायाले मासिक २५ देखि ३० हजार रुपैयाँ फाइदा लिन सकेकी छन् । उनी छोरीलाई राम्रो शिक्षा दिलाउन सफल भएकी छन् भने साउदी अरबमा रहेका पतिसमेत आएर अल्लो व्यवसायमा सघाइरहेका छन् । काम गर्दै जाँदा उनलाई आधुनिक खालको मेसिनको आवश्यकता भयो र यस्तो मेसिन किन्न केयर नेपाल नामक संस्थाले ४० हजार रुपैयाँ सहयोग पनि ग¥यो ।
‘आफू मात्र होइन, अरू दिदीबहिनी पनि व्यवसायी बनून् भनेर १५ जनालाई तालिम दिएकी छु, केही गर्नुपर्छ भनेर दिदीबहिनीलाई प्रोत्साहन पनि गरिरहेको छु’ उनले सुनाइन् । देवमाया र जसमायाजस्तै कैलालीकी पार्वती चौधरी पनि वेतबाँस (लहरा) का सामग्रीका सफल उद्यमी हुन् । वेतबाँसबाट निर्मित फर्निचर व्यवसाय गर्ने उनले कुर्ची, टेबलजस्ता आकर्षक सामग्री बनाएर बजारमा बेच्छिन् ।
लघु उद्यम विकास कार्यक्रमबाट सात दिनको तालिम लिएर काम सुरु गरेकी पार्वतीले पाँच हजार रुपैयाँबाट यो व्यवसाय सुरु गरेकी हुन् र अहिले लगानी एक लाख रुपैयाँबाट नाघिसक्यो । उनलाई यस्ता सामग्री बनाएर मासिक ३०÷३५ हजार रुपैयाँ फाइदा हुन्छ । ‘सुरुमा धेरै दुःख थियो, अहिले दुई छोरासहित ११ जनाको परिवारलाई राम्रैसँग धानेकी छु, अझै धेरै गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ’ सबै महिलालाई केही न केही उद्यम गर्न सल्लाह दिने पार्वती भन्छिन् ।
देवमाया, जसमाया र पार्वती उदाहरणीय महिला उद्यमी हुन् । उनीहरूको सफलतामा केयर नेपाल नामक संस्थाले सहयोग रहेको छ । यो संस्थाले यी सफल महिला उद्यमीको वृत्तचित्र बनाएर भिडियोमार्फत अन्य महिलाहरूलाई उद्यमी बन्न उत्प्रेरित गर्दै आएको छ ।
केयर नेपालका परियोजना व्यवस्थापक हरि घिमिरेले देशभरबाट १५ सफल महिला उद्यमीको वृतचित्र तयार पारेर अन्य महिलालाई उत्प्रेरित गर्न ठाउँठाउँमा अभियान नै सञ्चालन गरेको बताए । ‘भिडियोमार्फत पूर्वदेखि पश्चिमसम्म १९ जिल्लामा सफल महिला उद्यमी अभिप्रेरणा अभियान सुरु गरेका छौँ, वृत्तचित्रमार्फत १२ हजारलाई उद्यमी बन्न प्रोत्साहन गरिएको छ’, उनले थपे । यी सफल महिला उद्यमीलाई थप प्रोत्साहन दिन केयर नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ । यी महिलाका सफल उद्यम अरूका लागि प्रेरणादायी छन् । उनीहरूबाट प्रेरणा लिएर अघि बढ्ने जो कोही आत्मनिर्भर बन्न सक्छन् भन्नेमा द्विविधा छैन ।

प्रतिक्रिया