‘होमियोप्याथीलाई आयुर्वेदसँग नजोडौं’

काठमाडौं । सरकारले होमियोप्याथिक चिकित्सालाई आयुर्वेदिक तथा पूरक चिकित्सा नीतिमा समावेश गर्नु असान्दर्भिक भएको सम्बन्धित चिकित्सकले बताएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै होमियोप्याथिक चिकित्सा विकास एवं विस्तार संघर्ष समितिले विश्व स्वास्थ्य संगठनले यस पद्धतिलाई वैकल्पिक तथा पूरक चिकित्साअन्तर्गत राखेको भए पनि सरकारले भने आयुर्वेद तथा पूरक चिकित्सा भनी आयुर्वेद विभागअन्तर्गत राखेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
संघर्ष समितिका संयोजक डा खगेन्द्र कटुवालले सरकारको एक मात्र होमियोप्याथिक अस्पतालको रूपमा रहेको ‘पशुपति होमियोप्याथिक चिकित्सालय’ को स्वामित्वको जग्गा र भवन उच्च अदालत पाटनले लिने प्रक्रिया अघि बढेकाले उक्त प्रक्रियालाई तत्काल रोकी केन्द्रीय शिक्षण अस्पतालको रूपमा विकास गरी समिति समेत गठन गर्न सरकारसँग माग गरे । नेपाल होमियोप्याथिक चिकित्सक संघका अध्यक्ष डा. रवीन्द्र रायले सरकारले बनाएको आयुर्वेद तथा पूरक चिकित्सा नीतिको परिमार्जन गरी आयुर्वेद, होसियोप्याथिक तथा पूरक चिकित्सा राखी प्रत्येक स्थानीय तहमा अनिवार्य रूपमा होमियोप्याथिक चिकित्सालय स्थापना गर्नुपर्ने बताए ।
होम संघर्ष समितिले होमियोप्याथिक चिकित्सा महाशाखा, विभाग र औषधि व्यवस्था विभागमासमेत होमियोप्याथिक औषधि शाखा राख्नुपर्ने, छुट्टै होमियोप्याथिक चिकित्सकको काउन्सिल, होमियोप्याथिक सहायक चिकित्सक (एचएचए) ले क्लिनिक दर्ता गर्न पाउनुपर्ने, औषधि आयातमा सहजता हुनुपर्नेलगायत माग राखेका छन् ।
हाल नेपालमा कति होमियोप्याथिक चिकित्सक छन् भन्ने यकिन तथ्यांक नभएपनि करिब दुई सय ५० चिकित्सक र सरकारी र निजीमा गरी करिब दुई हजार होमियोप्याथिक स्वास्थ्यकर्मी रहेको अनुमान छ । आफ्ना मागहरू पूरा नभए थप आन्दोलनका कार्यक्रम तय गरी अघि बढ्ने उनीहरूले बताएका छन् ।

प्रतिक्रिया