‘ए मेरो हजुर–२’ शीर्ष गीत आयो

 

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर–२’ को पहिलो गीत र पोस्टर सार्वजनिक गरिएको छ । नायिका झरना थापाको जन्मदिनको अवसर पारेर शीर्ष गीतको सार्वजनिक गरिएको हो । ‘कसम हो’ बोलको यो ओएसटीमा सुगम पोख्रेलको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, कल्याण सिंहको संगीतमा रहेको उक्त गीत युट्युबमार्फत हेर्न सकिन्छ । नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालमा खिचिएको यो गीतलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् भने सञ्जय लामाले खिचेका हुन् । गीतको भिडियोलाई लोकेसन, कोरियोग्राफी र खिचाइले उत्कृष्ट बनाएको छ । आइतबार बेलुकी काठमाडांैको क्युज हलमा चलचित्रको गीत सार्वजनिक गर्नुका साथै निर्देशक झरना थापाको जन्मदिन पनि सेलिब्रेसन गरिएको थियो । कार्यक्रममा, चलचित्रका मुख्य कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेतलगायतको उपस्थिति थियो ।
साथमा, नायिका रेखा थापा, रिमा विश्वकर्मालगायत कलाकारले झरनालाई जन्मदिनको शुभकामना दिएका थिए । कार्यक्रममा नायिका साम्राज्ञीले चलचित्रको सुटिङमा निकै दुःख भएको बताएकी थिइन् । उनले भनिन्, ‘तैपनि हामीले सोचेको भन्दा धेरै राम्रो चलचित्र बनेको छ । माइनस १० डिग्रीमा पनि हामीले गीत खिच्न सफल भयौँ । म, बाटो संझेर कतिपय स्थानमा त रोएकी थिएँ ।’
चलचित्रका नवनायक सलिनमान बाँनियाले ‘ए मेरो हजुर–२’ बाट चलचित्र क्षेत्रमा डेब्यू गर्न पाउँदा खुसी लागेको बताउँदै साम्राज्ञीले आफूलाई धेरै कुरा सिकाएको बताएका छन् ।
नायक सलोन बस्नेतले साम्राज्ञी र सलिमसँग काम गर्दा खुसी लागेको भन्दै आफूहरूले निकै मिहिनेत गरेर चलचित्र बनाएको बताए । सुनिलकुमार थापाको निर्माणमा तयार भएको यो चलचित्र १६ भदौबाट देशभरका हलमा रिलिज हुनेछ । सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र बनेको हो । निर्माता सुनिलकुमार थापाले चलचित्र निर्माणमा निकै मिहिनेत गर्ने सबै कलाकारलाई धन्यवाद दिँदै चलचित्र नै बनाउँदिन भनेर बसेको मान्छे निर्माणमा फर्किएको बताए ।

प्रतिक्रिया