काठमाडौं । तीज, गाईजात्रा, कृष्ण जन्माष्टमीलगायत सार्वजनिक बिदा धेरै पर्ने भएकाले पनि भदौ महिना नेपाली चलचित्र निर्माताका लागि विशेष हुने गर्छ । सदाको वर्षजस्तै यसवर्षको भदौ महिनामा पनि चलचित्रको प्रदर्शनीको निकै ठूलो भिडन्त हुने भएको छ । भदौ महिनामा चर्चाको शिखरमा रहेका नायक अनमोल केसी अभिनीत ‘कृ’ ८ भदौमा रिलिज हुने भएको छ भने निश्चल बस्नेत अभिनीत ‘२ रुपैयाँ’ पनि रिलिज हुने तयारीमा छ ।
यस्तै, २ भदौबाट आशिरमान देसराज जोशी र आना शर्माको मुख्य भूमिका रहने चलचित्र ‘ग्याङस्टार ब्लुज’ को रिलिज डेट तोकिएको छ । आउँदो वर्षको सबैभन्दा बढी अपेक्षा गरिएका सबैजसो चलचित्र भदौमा प्रदर्शन मिति तोकेर बसेका छन् ।
सुरेन्द्र पौडेलको निर्देशन रहने ‘कृ’ मा अनमोल र अदिती बुढाथोकी मुख्य भूमिकामा देखिँदै छन् । अदिती सामाजिक सञ्जालमा राम्रो पकड भएकी मोडलसमेत हुन् । अनमोल र अदितीको जोडी युवा दर्शकलाई मनपर्ने दाबी निर्देशकले गरे । यीबाहेक अन्य चलचित्रसमेत भदौ मै रिलिज हुन सक्ने निर्माताको अनुमान छ । भदौमा महिनामा सार्वजनिक बिदा धेरै पर्ने र चाडवाडको माहोल हुने भएकाले पनि चलचित्र रिलिजका लागि निर्माताले मरिहत्ते गरेको चलचित्र संघका अध्यक्ष प्रदीप उदयको भनाइ छ ।
प्रतिक्रिया