सिन्धुपाल्चोक । समाजमा हुने साना तथा ठूला घटनालाई समाजमै मिलाउनका लागि सिन्धुपाल्चोक जिल्लाको गाउँगाउँमा मेलमिलापसम्बन्धी सचेतनात्मक सडक नाटक प्रस्तुत गरिएको छ । जिल्लाभरि नै सामुदायिक मेलमिलाप केन्द्रको बारेमा जानकारी दिने र यसको प्रभावकारिताका बारेमा सूचित गर्ने उद्देश्यले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र दि एसिया फाउन्डेसनको सहयोगमा आवाज आर्ट क्रियसनले जनचेतनामूलक सडक नाटक अभियान सञ्चालन गरेको हो । आर्ट क्रियसनले सिन्धुपाल्चोकका हरेक नगरपालिका र गाउँपालिकामा जनचेतनामूलक सडक नाटक अभियान सञ्चालन गरेको हो । स्थानीयस्तरमा हुने विवाद अदालतसम्म पुग्नबाट रोकी सोही क्षेत्रमा नै संवादबाट समाधान गर्ने लक्ष्य लिएर सडक नाटक अभियान सुरु गरिएको आवाज आर्ट क्रियसनका निर्देशक कृष्णप्रसाद धितालले बताए ।
जिल्लामा सात सयभन्दा बढी विवाद लिखित सहमतिका साथ समाधान भइसकेकाले अभियान निकै प्रभावकारी बनेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकका कार्यक्रम संयोजक उद्धवप्रसाद अधिकारीले बताए । आयोजक टिमले सचेतनामूलक सडक नाटक अभियान चैत महिनासम्म चल्ने बताएको छ । नाटकमार्फत चेतना फैलाउँदै गाउँगाउँमा फाटेका मनलाई जोड्ने अभियान निकै प्रभावकारी बन्ने आयोजकको दाबी छ । स्थानीयस्तरमा हुने विवादलाई मिलाएर शान्ति कायम गर्न सडक नाटक कार्यक्रमलाई सञ्चालन गरिरहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापाले बताए । दुई पक्षको विवादलाई संवाद गरेर मिलाउने काम सामुदायिक मेलमिलाप केन्द्रले गर्ने थापाको धारणा छ ।
सरकारले द्वन्द्व तथा विवाद छलफलबाट निवारण गर्ने उद्देश्यले ०६८ सालमा मेलमिलापसम्बन्धी ऐन र ०७० सालमा नियमावाली नै ल्याएको थियो । सोही ऐन र नियमावलीको अधिनमा रही प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले मध्यमाञ्चल क्षेत्रको पाँच जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यस अभियान चैतको पहिलो साताबाट काभे्र, दोलखा, रसुवा र नुवाकोटमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया