‘मेरो पैसा खोइ’ भन्दैछन् राेज राणा

mero-paisa-khoi-shoot-3 (1)काठमाडौं १८ फागुन । छायांकनको करिब १६ दिनको दृश्य डिलेट गरेर बलिउड निर्देशक विवेक शर्मा हिँडेपछि निर्माता रोज राणा अहिले चलचित्र ‘मेरो पैसा खोइ’को निर्देशन गरिरहेका छन् ।काठमाडौंभन्दा केही पर भकुन्डेबेँसीमा यो चलचित्रको धमाधम छायांकन भइरहेको छ । चलचित्रका मुख्य कलाकार रविन तामाङ र बुद्धि तामाङ चलचित्रको लागि टेक दिइरहेका थिए । ‘मेरो पैसा खोइ’लाई बलिउड निर्देशक विवेक शर्माले आफ्नै कथामा निर्देशन गरिरहेका थिए । तर, एकाएक उनले १६ दिन खिचिएका दृश्य सबै डिलेट गरेर हिँडेपछि रोज आफै निर्देशनमा तम्सिएका हुन् ।
रोजले भने, ‘अहिले हामीले मौनता श्रेष्ठले लेखेको कथामा चलचित्र बनाइरहेका छौँ । चलचित्रको शीर्षक पनि कथासँग मेल खाएपछि ‘मेरो पैसा खोइ’ नै राखिएको हो ।’ नायिका वर्षा राउत चलचित्रको सुटिङ फेरि गर्नु परे पनि उत्साहित देखिइन् । उनले भनिन्, ‘बलिउड निर्देशकसँग काम गर्दा त रमाइलै भएको थियो । तर, उहाँले नेपालमा पनि बलिउड स्टाइलकै ट्रिटमेन्ट खोज्नुभयो ।’
चलचित्रको कथावस्तुबारे निर्देशक रोजले केही पनि भन्न चाहेनन् । उनले भने, ‘यो एउटा कमेडी चलचित्र हो । जसमा पैसाको कुरा हुनेछ ।’ सौगात मल्ल, वर्षा राउत, रविन तामाङ, बुद्धि तामाङलगायतका कलाकारको यसमा मुख्य भूमिका छ । बसन्त सापकोटाको संगीत, हरि लामा घलेको छायांकन यो चलचित्रमा छ । निर्देशक राणाले अझै ५ दिन भकुन्डेबेँसीमा छायांकन हुने जानकारी दिए । यसपछि काठमाडौंमा चलचित्रको छायांकन हुने उनले जानकारी दिए ।

प्रतिक्रिया