बन्ने भो चलचित्र ‘लम्फू’

काठमाडौं १८ फागुन। गोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र ‘लम्फू’को औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा चलेको हप्तौँ लामो ‘वर्कसप’ र फ्लोरमा जाने निश्चिततापछि निर्माण टिमले ‘कास्ट एन्ड क्रियू’ सार्वजनिक गर्दै चलचित्र घोषणा गरेको हो । शक्तिबल्लव घोरासिनी निर्माता रहने चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराईलगायत प्रमुख अभिनयमा रहनेछन् । पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने फिल्मको लेखन भूपतिको हो । उक्त ब्यानरबाट यसअघि चलचित्रहरु ‘किन लाग्छ माया’, ‘बोक्सी’ र ‘दि मिरर’ निर्माण भइसकेका छन् । साथै पुनम इन्टरटेन्मेन्टको सहकार्यमा ‘ओ माइ म्यान’ नामको लघु चलचित्र पनि निर्माण गरिसकेको छ ।lamphu
सुखी र सम्पन्न जीवन जिउने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा सुरु भएपश्चात उत्पन्न हुने आरोह÷अवरोहको कथा फिल्मले बोल्नेछ । अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा द्वन्द्व अष्ट महर्जनको रहनेछ भने दीपक बज्राचार्यको छायांकन तथा हरि सिलवालको सम्पादन रहनेछ । नृत्य निर्देशनमा रामजी लामिछाने छन् ।
पुनम इन्टरटेन्मेन्टको कस्ट्युम डिजाइन रहने चलचित्रलाई ४० दिनभित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेको छ । यसै साताबाट फ्लोरमा जाने निर्देशक लामिछानेले बताए । पश्चिम नेपालको पर्वत र काठमाडौंमा ‘लम्फू’ खिचिनेछ । चलचित्रमा समावेश हुने गीतहरुमा प्रमोद ढुंगाना, नरेश भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द रहनेछन् । ‘लम्फू’बाट डेब्यू गर्न लागेका कबिर अस्कर कलेजका स्नातक हुन् ।

प्रतिक्रिया