महोत्तरी, ४ फागुन । सहरमा मात्र होइन पछिल्लो समय ग्रामीण भेगमा पनि पश्चिमा संस्कृतीले प्रवेश पाएको छ । केही वर्षदेखि नेपालका युवा पुस्ताहरू प्रणय दिवसमा रमाउन थालेका छन् । तर, तीनै युवा मध्ये चर्चित हास्य कलाकार धुर्मुस–सुन्तलीले बनाएको भ्यालेन्टाइन डे फरक पाइयो ।
महोत्तरीको मुसहर मस्तीको मुहार फेर्न कसिएर लागेका यी पतिपत्नीको भ्यालेन्टाइन यस्तो देखियो । दुवैको अनुहारमा थकान थियो । तर, त्यो थकानलाई प्रेमको ऊर्जाले जित्दै उनीहरू अँगालोमा बाँधिए । उनीहरू केही क्षणका लागि भए पनि थकान भुल्ने प्रयास गर्दै थिए ।
सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सँग प्रेमजीवनबारे कुरा गर्न मुसहर बस्तीमा पुग्दा दुवै जना प्रेमभन्दा पनि कामको मुडमा थिए । इँटाका थाक ओसारिरहेका उनीहरूलाई आरामबारे सोच्ने समेत फुर्सद देखिँदैनथ्यो । झन् प्रेम र प्रेमालापबारे कसरी सोच्दा हुन् !
केहीवर्षको प्रेम सम्बन्ध र सहकार्यबाटै वैवाहिक जीवनमा प्रवेश गरेका हुन् उनीहरू । तर, प्रणय दिवसमा उनीहरूले एकान्तको साथ रोजेनन् । मुसहर बस्तीमा श्रमदान गर्दै उनीहरूले सहयात्राको मिठासलाई फरक रूपमा लिइरहेका थिए ।
काममा व्यस्त भएका कारण प्रेमका लागि खासै फुर्सद नभएको भन्दै उनीहरूले प्रगाढ प्रेमकै कारण सामाजिक काममा पनि मन एक भएको बताए । ‘मुसहर समुदायको माझमा उनीहरूको पीडालाई दूर गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुसी लागेको छ’ कुञ्जनाले बताइन् ।
सीतारामले पनि बस्ती निर्माणमा लागेकै कारण पहिलेका प्रेम दिवसभन्दा यसपालीको अझै विशेष महसुस भएको प्रतिक्रिया दिए । ‘यस्तो अवसर चाहेर पनि सधैँ कहाँ पाइन्छ र ?’ मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने भन्दै उनीहरूले सामाजिक काम पनि प्रेमकै एउटा स्वरूप भएको धारणा राखे ।
धुर्मुस–सुन्तलीको जोडी बर्दिबासमा तेस्रो एकीकृत नमुना बस्ती निर्माणमा जुटिरहेको छ । माघ अन्तिम साता अस्ट्रेलियामा सहयोग संकलन गरेर फर्किए लगत्तै उनीहरू श्रमदानमा जुटिरहेका छन् । बस्ती निर्माणका लागि अस्टे«लियामा ६५ लाख रुपैयाँ संकलन भएको थियो ।
प्रतिक्रिया