काठमाडौं, ३ फागुन । केहि सफल चलचित्रको कथा लेखिसकेका लेखक यम थापा अब चलचित्रको निर्देशक बन्ने भएका छन् । उनको डेब्यू निर्देशन रहने चलचित्र ‘राज्जा रानी’को सोमबार पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको छ । ५ फागुनबाट चलचित्रको छायांकन सुरु हुनेछ । नेपालगञ्जमा चलचित्रको छायांकन ३५ दिन लगाएर गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
चलचित्रको मुख्य भूमिकामा नायक नाजिर हुसेन र नायिका केकी अधिकारी रहनेछन् । पूरोहितले मन्त्र पढ्दै चलचित्रको शुभसाइत गरेका थिए । शुभसाइत समारोहमा नाजिर र केकीले माला लगाएर संवाद बोलेका थिए । नायक भुवन केसी, नायिका रेखा थापाको उपस्थितिमा चलचित्रको शुभसाइत गरियो । आर्यन फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको यो चलचित्रलाई रमेश एम.के पौडेलले निर्माण गर्दैछन् । चलचित्रमा केकी र नाजिरको साथमा कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्रीलगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
निर्माता पौडेलले चलचित्रको कथा ३० मिनेट सुन्ने बित्तिकै आफू यो चलचित्र बनाउन तयार भएको बताए । सोसल ड्रामामा बन्ने यो चलचित्रको लेखक पनि यम नै हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत रहनेछ । कार्यक्रममा बोल्दै निर्देशक यम थापाले नेपाली परिवेशमै रहेर यो चलचित्र बन्न लागेको बताए ।
प्रतिक्रिया