नाचघरमा ‘फरक पाइला’

pharak-pailaकाठमाडौं, २६ माघ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा यही २७ गते ‘वेश्मा लाङ्योक’ अर्थात् ‘फरक पाइला’नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । ‘हिलिहाङ हाक्पारे पालाम सयङ’ले आफ्नो प्रथम वार्षिकोउत्सवको अवसर पारेर सो कार्यक्रम आयोजना गर्न लागेको हो ।

राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित कार्यक्रममा कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दिइयो । राष्ट्रिय नाचघर सह–आयोजक रहेको उक्त कार्यक्रममा संगीतकार तथा प्राज्ञ अशोक लोहरुङ राईले संगीत संयोजन गर्दै छन् । वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा लिम्बू गीत संगीतका धरोहर भगत सुब्बालाई अभिनन्दन गरिँदै छ भने संगीतकार अशोक लोहोरुङ राईलाई सम्मान गरिने भएको छ ।

कार्यक्रममा दीपक लिम्बू, मनु नेम्बाङ, विष्णु चेम्जोङ, देशु सुहाङ, कुसल थलङ, मोहन मादेन, सञ्जय तुम्रोक, सुसन साम्सोङ, सुष्मा लिबाङ, जशोदा सुब्बा, सिता सिंगक, श्रेयाशी चेम्जोङ, सुनिता थेगिम, अमृता लिम्बू, निर्मल लिम्बू, सुरेश वनेम, निशा लिम्बू, विना थेगम लिम्बू, दीपा सुहाङ, रिना लिबाङ, तारा थेबेलगायत नयाँ तथा पुराना गायक एवं गायिकाले लिम्बू भाषाका गीत प्रस्तुत गर्ने भएका छन् । उनीहरू अशोक लोहरुङ राईको म्युजिक संयोजनमा लाइभ म्युजिकमा प्रस्तुत हुने भएका छन् ।

त्यस्तै, कार्यक्रममा निशा पोपु लिम्बू, रुपा आङबुहाङ, विना लिम्बू, सुक्मिता केरुङ लिम्बू, डिम्पल योङहाङ लिम्बू, लक्ष्मी योङहाङ, यमुना चेम्जोङ, रितु नेम्बाङ, रजिना आङदेम्बे, मेरिना चेम्जोङ, सिर्जना तबेबुङ, सलु फोम्बो, किरण रानामगर, विशाल सेनेहाङ, विवेक बेघा, अस्टिन तामाङ, शिवराज अङछोङबु, सागर खजुम, रेनुशा लिम्बूलगायत मोडल तथा नृत्यकारले दमदार नृत्य प्रस्तुति दिने भएका छन् । कार्यक्रममा प्रस्तुत हुने गीतसंगीत तथा नृत्य विशुद्ध लिम्बू भाषामा हुने आयोजक संस्थाका अध्यक्ष प्रदीप योङहाङले बताए ।

प्रतिक्रिया