गायक पन्नाकाजीको निधन

panna-kajiकाठमाडौं, १३ माघ । चर्चित गीत ‘तिरिरी मुरली बज्यो वनैमा’का संगीतकार तथा वरिष्ठ गायक संगीतकार पन्नाकाजीको ८५ वर्षको उमेरमा बुधबार बिहान ५ बजे निधन भएको छ । उनको तहाचलस्थित आफ्नै निवासमा निधन भएको हो । करिब ४ सयका हाराहारीमा स्वदेशगान, भजन, लोकगीतमा संगीत तथा स्वर दिएका चर्चित गायक पन्ना काजी नेपाली संगीतको आकाशमा नक्षत्र हुन् ।

०८ सालमा रेडियो नेपालमा पहिलोपटक गीत गाएका पन्नाकाजीले ०१६ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । ०२२ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी गायनमा उनले स्वर्ण पदक जितेका थिए । त्यतिबेला संगीततर्फ भने नारायणगोपाल प्रथम भएका थिए । गुलामी अलीको स्वरमा रेकर्ड हुनुअघि ‘किनकिन तिम्रो तस्बिर मलाई निको लाग्छ’ र ‘लोलाएका ती तिम्रा गीत’ पन्नाकाजीले गाएका थिए । यी गीत मविवि शाहले लेखेका हुन् ।

शरदकुमार शाक्यले लेखेको ‘तिरिरी मुरली बज्यो वनैमा’ गीत पन्नाकाजीले संगीत दिएको गीतपछि उनका छोरा प्रवेशमान शाक्यले गाएका हुन् । पन्नाकाजीका ४ छोरा र १ छोरीमध्ये २ छोरा संगीत क्षेत्रमै सक्रिय छन् ।

प्रतिक्रिया