दुई महिनामा दयाका ४ फिल्म

dayahang-raiकाठमाडौं, ८ माघ । नेपाली चलचित्रमा अति व्यस्त तथा रोलमोडल नायक दयाहाङ राई अहिलेको सबैभन्दा व्यस्त नायक हुन् । दयाको यो वर्ष मात्र ५ वटा फिल्म बजारमा आइसकेको छ भने आगामि २ महिनाभित्र ४ वटा चलचित्र आउने भएको उनी अब करिब १ वर्षका लागि नयाँ चलचित्रलाई समय दिन नसक्ने अवस्थामा पुगेका छन् । यसको अर्थ, उनको आउँदो वर्ष पनि दर्जन  चलचित्र रिलिज हुनेछन् ।

यो वर्ष दयाका ८ चलचित्र रिलिज हुने देखिएको छ । यसरि हेर्दा, डेढ महिनामा एउटा चलचित्र रिलिज भएको देखिएको छ । वैशाखमा ‘हाउ फन्नी’बाट सुरु भएको दयाको चलचित्र रिलिजको सिलसिला चैतसम्म पनि उस्तै छ । नयाँ वर्षको वैशाखको पहिलो दिनलाई पनि गन्ने हो भने, दयाका लगालग ४ वटा चलचित्र रिलिज हुनेछन् ।

फागुन १३ गते उनको ‘लुट–२’ रिलिज हुनेछ । त्यसको करिब १ महिनापछि दयाकै अभिनय रहेको चलचित्र ‘लप्पन छप्पन’ रिलिज हुनेछ । त्यसको एक सातापछि दयाकै अर्को चलचित्र ‘लाल्टिन’ रिलिज हुनेछ । त्यसको २ सातापछि वैशाख १ गते दयाहाङ अभिनीत चलचित्र ‘घामपानी’ रिलिज हुनेछ ।

करिब २ महिनाको अन्तरमै दयालाई हेर्न दर्शक ४ पटकसम्म हलमा जानुपर्नेछ । यसले, के सबै चलचित्रलाई फाइदा गर्ला त ? दयालाई अहिले मनलाग्दी चलचित्र खेलिरहेको आरोप लागेको छ । बक्स अफिसमा एकपछि अर्को रूपमा फेल हुँदा उनको चलचित्र छान्न नसक्ने खुबी मुख्य कारक भनेको टिप्पणी चलचित्र बजारमा गर्न थालिएको छ ।

उनको ‘हाउ फन्नी, वीर विक्रम, झुम्की, पुरानो डुंगा, सेतो सूर्य’ नामक चलचित्र रिलिज भइसकेका छन् । जसमा ‘वीर विक्रम’ बाहेक अन्य चलचित्र सफल हुन सकेनन् । ‘हाउ फन्नी’ औसत रहँदा अन्य ३ चलचित्र असफल बने ।

दयाहाङको चलचित्र खेल्ने यस्तो शैलीले उनलाई ठूलो घाटा भइरहेको चलचित्र विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया