विराटनगर, ८ माघ । मान्छेलाई सुन्दा पत्याउन गाह्रो हुन्छ । खोलाको बगरमा खेती, के राम्रो होला र ! त्यसमा पनि तराई क्षेत्रमा बर्सेनि आउने बाढीको डरले मानिसहरू खोला वरपर खेती लगाउँदैनन् । तर, मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित जिरीखिम्तीका किसानहरू केही समयदेखि बगरकै खेतीले आफ्नो जीविकोपार्जन गरिरहेका छन् ।
पानीमा उम्रने सिमे सागको खेतीले उनीहरूको जीवन चलिरहेको छ । स्थानीय मोरंगी खोलाको बगरमा सिमे सागको खेती गरी स्थानीयवासीले मनग्गे आम्दानी गरिरहेका छन् ।
सागसब्जीमध्ये अर्गानिक मानिने सिमे सागको खेतीबाट एकसिजनमा १० हजारदेखि ४ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको कृषकको भनाइ छ । नेपालमा केही गर्न सकिएन भन्दै अरबको मरुभूमितर्फ लाग्नेहरूलाई यहाँका किसानले गतिलो जवाफ दिएका छन् । थोरै लगानीमा राम्रो आम्दानी गरिरहेका छन् यहाँका सिमे सागको खेती गर्ने किसानहरूले ।
सिमे साग रोपेको एक महिना नपुग्दै बिक्रीका लागि तयार हुन्छ । जिरिखिम्तीका करिव ४० घर परिवारले मोरंगी खोलाको १० बिघा क्षेत्रफलमा सिमे साग लगाउँदै आएका छन् । वर्षा मौसम सकिएपछि खोलाको बगरमा लगाउने सिमे साग यस क्षेत्रका मानिसको आम्दानीको मूख्य श्रोत बनेको छ । धरान, विराटनगर, दमक र काँकडभिट्टासम्मको बजारमा साग बेचेर घर धान्ने गरेको स्थानीय तुलसा
गुरुङले बताइन् ।
सिमे सागको बजार राम्रो भएकाले व्यापारीहरू सिमे साग खेती भएको स्थानमै साग किन्न आउने गरेको गुरुङको भनाइ छ । सिमसार क्षेत्रमा उनीहरूले हरेक वर्ष नगदे बालीका रूपमा सिमे सागको खेती गर्दै आइरहेका छन् ।
प्रतिक्रिया