सदरमुकाम दुनैस्थित भेरी नदीपारि रहेको हरियाली सामुदायिक वनमा लगाइएका बोटबिरुवामा पानी लगाउने काममा एक युवा तल्लीन देखिन्छन् । बिहानै, निस्कन्छन् दिनभर बिरुवामा पानी लगाउँछन्, साँझपख सडकपेटीमा फर्कन्छन् । यसरी नै उनको दिनचर्या बितिरहेको छ ।
खासमा ती युवा कोही नभएर सदरमुकाम दुनैका विमल भारती हुन् । उनलाई ५ वर्षसम्म स्मरणशक्ति गुमाउनुपरेको थियो । तर, नागरिक समाजको अगुवाइमा उपचार गराइएपछि उनलाई निको भएको छ । ६ महिनाअघिसम्म बेवारिसे रूपमा सदरमुकामको गल्लीगल्ली चाहार्दै हिँड्ने भारती पुनः सामान्य अवस्थामा फर्किएपछि उनलाई चिन्नेजान्ने सबै दंग परेका छन् ।
बाटोघाटोमा मान्छेलाई धम्काउँदै, सफा फोहर केही नजान्ने यतिसम्मकी अन्तिम अवस्थामा दिसापिसाबसमेत खाएको पत्तो नपाउने भारतीले ६ महिनाअघिसम्म नारकीय जीवन व्यतित गरिरहेका थिए, अहिले उनको जीवनमा एकाएक परिवर्तन आएको छ । उनले नयाँ जीवन पाएका छन् ।
२९ वर्षीय भारती जुम्ला जिल्ला चन्दनाथ गाविस–६ स्थायी घर भई ३० वर्षदेखि बुबाआमा र भाइसँग दुनै–१ मा बस्दै आएका थिए । भारती परिवारको पहिलो सन्तानका रूपमा रहेका उनले ५ वर्षदेखि मानसिक सन्तुलन गुमाएका थिए । उनको जुम्ला सदरमुकाम खलंगामा स्थानीय केटासँग झगडा प¥यो । भाइको नागरिकता बनाउन गएका बेला स्थानीयवासी युवासँग भएको झडपमा उनको मानसिक सन्तुलन गुम्न पुग्यो । आर्थिक अभावका कारण ५ वर्षसम्म उपचार नपाएर भौँतारिनु प¥यो भारतीलाई । उनको यो अवस्था देखेर अन्ततः उपचारको लागि नागरिक समाजले कदम चाल्यो ।
नागरिक समाजको पहलमा उनलाई २६ जेठ ०७३ मा काठमाडाँंस्थित रिजमिन्ड फेलोसिप नेपाल संस्थाद्वारा सञ्चालित पुनस्र्थापना केन्द्रमा उपचारको लागि लगियोे । झन्डै ७ महिनाको उपचारपछि उनलाई पुनः डोल्पा फर्काइएको छ । स्वास्थ्यमा सुधार आएपछि उनलाई फर्काइएको नागरिक समाज डोल्पाले जनाएको छ । ‘अहिले सबैसँग बोल्न हाँस्ने गर्छु, अरूलाई चिन्न सक्छु, स्मरण शक्ति पुनः फर्किएको छ । पहिलेकै अवस्थामा फर्किएको अनुभूति भएको छ’ भारतीले भने, ‘नागरिक समाजको प्रयासले मैले नयाँ जीवन पाए, अब जीवन गुजारा गर्न काम गर्न सक्छु कि भन्ने आशा जागेको छ, अहिले बिरुमा पानी हाल्ने काममा पाएको छु’ उनले थपे ।
‘हाम्रो सुन्दर परिवारमा एकाएक बाढी आयो, मेरो यस्तो अवस्था भएपछि मेरो परिवार भताभुंग भयो, सदरमुकाम दुनैमा रहेको सरकारी कार्यालयको नाममा रहेको एक कोठे घर भत्किएको छ, बुबाको पनि मृत्यु भइसकेछ, आमाले मन्दिरको सहयोगीको रूपमा र कान्छो भाइले होटेलमा काम गरेर जेनतेन गुजारा गर्दै आएका रहेछन्’ उनी भक्कानिँदै भन्छन् ।
‘अहिले गाँसबासकै व्यवस्था छ, नत आफन्त नै यस ५ वर्षको अवधिमा घर, बुबा मेरो सपना सबै थोक गुमाएको छु’ उनले भने । आमा कृष्णादेवी भारतीले भनिन् ‘छोराप्रतिको आशा छँदै थियो, उसको पशुजस्तै व्यवहारले सबैले गाली बेइज्जती गर्न थाले सबैको छिःछिः र दुर्दुर सहनुप¥यो हाम्रो परिवारले ।’
‘ढिलै भए पनि उपचार भयो, उसले नयाँ जीवन पाएको छ । अब भाँडा माझेर भए पनि जिन्दगी गुजारा गरौँला नागरिक समाजलाई धेरैधेरै धन्यवाद छ’ उनले खुसी हँुदै भनिन् ।
३ जनाको परिबार एकै ठाउँमा बसेर जिन्दगी काट्ने आशा त थियो, तर बस्नका लागि घर, अन्नबाली लगाउन जग्गा जमिन केही पनि छैन् । कसैले छोरालाई जागिर लगाइदिए हुन्थ्यो उनले भने । सदरमुकामको ठाउँ महँगीले सामान छोइनसक्नु छ, बिहान बेलुकी छाक टार्नसमेत धौधौ पर्छ, । भारतीको उपचारका लागि जिल्लाका उद्योगी, व्यापारी, समाजसेवी सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीबाट चन्दा संकलन गरिएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए ।
बुढाका अनुसार अहिलेसम्म उपचारका लागि १ लाख ५५ हजार रुपैयाँ खर्च लागिसकेको र अझै ६ महिनासम्म नियमित औषधि खानुपर्ने भएकाले थप खर्च लाग्ने बताइएको छ ।
सम्पत्तिको नाममा परिवार बस्दै आएको एककोठे घर जिल्ला विकास समितिको नाममा थियो । अहिले भत्केर भग्नावशेषमा परिणत भएको छ । अदालतको निर्णयअनुसार कार्यालयले उनका बुबाको मृत्यु हुनुभन्दा अगाडि १४ हजार रुपैयाँ रकममा जग्गाधनी पूर्जा लिन भने तापनि उनका बाबुले सो रकम तिर्न नसकेर आफ्नो नाममा गर्न सकेका थिएनन् । अहिले सो घर भारतीलाई दिन नसकिने स्थानीय विकास अधिकारी सागर मिश्रले बताए । अहिले उनलाई न त गाँसको व्यवस्था छ न त बासकै भारतीले सदरमुकाममा घुमुवा जीवन बिताइरहेका छन् । पाएको दिन खाने नपाएको दिन भोकै बस्ने ।
केही हदसम्म भए पनि मानवीय धर्म पूरा गरेका छौँ जस्तो लाग्छ डोल्पो ह्युमनिटेरेन सोसाइटीका अध्यक्ष तथा निर्माण व्यवसायी ओम रोकामगरले भने । कमजोर आर्थिक अवस्थाका कारण २ छाकका लागि उनका आमा र भाइले होटेलमा भाँडा माझ्ने काम गर्न विवश छन् । अहिले भारतीको दिनचर्या नजिकै रहेको सामुदायिक वनमा रहेका बोटबिरुवामा पानी हाल्ने र सुरक्षा दिने काममा बित्न थालेको रोकामगरले बताए । आफ्नो जीवनमा एकाएक परिवर्तन आएपछि भारतीमा नयाँ जोस पलाएको छ भने भविष्यमा समाजका लागि केही काम गरेर उदाहरणीय व्यक्ति बनेर देखाउने उनको अठोट छ । नागरिक समाज डोल्पाले गरेको उदाहरणीय कामप्रति सबै डोल्पालीले मुक्तकण्ठले प्रशंसा गरेका छन् । डोल्पामा पूर्णरूपमा समाजसेवामा समर्पित नागरिक समाजले योभन्दा अगाडि २ जना पीडित बालकको आफ्नो पहलमा उपचार गराउनुका साथै काठमाडौंमा अध्ययनको व्यवस्थासमेत मिलाएको थियो ।
प्रतिक्रिया