हुम्लामा हिमपातले दैनिकी कष्टकर

हुम्ला, ३ माघ । आइतबार बिहानदेखि हुम्लालगायत कर्णालीका विभिन्न क्षेत्रमा भारी हिमपात भएको छ । शनिबार रातीदेखि बदलिएको मौसमका कारण सिमिकोटलगायत हुम्लाका उतरी गाविसमा तेस्रोपटक हिमपात भएको छ ।

हुम्लामा यसअघि पुस महिनामा दुईपटक हिमपात भएको थियो । हिमपातले जिल्लाका माथिल्लो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण सुर्खेत नेपालगञ्जबाट उडान हुने जहाजसमेत अवरुद्ध हुने भएको छ । हुम्लाको उच्च हिमाली क्षेत्रका गाविस लिमी मुचु खगालगाउँ, हेप्का, सिमकोट बरगाउँ ठेहे बराई रोडिकोट गोठी, मेल्छामा, मिमिलगायत गाविसहरूमा भारी हिमपात भएको छ ।

हिमपात हुँदा सरकारी तथा गैरसरकारी कार्यालयमासमेत दैनिक कामकागजमासमेत समस्या भएको प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले बताए । हिमपातले स्थानीय बासिन्दालाई दैनिक काम गर्न मात्र नभई एक गाउँबाट अर्को गाउँमा आवतजावत गर्नसमेत असर पारेको स्थानीय बासिन्दाले बताए । जिल्लाका उच्च हिमाली क्षेत्रमा पर्ने गाविसमा हिउँ परेपछि स्थानीय बासिन्दाको काममा समेतमा समस्या बनाएको ठेहे गाविसका जय बोहराले बताए ।

प्रतिक्रिया