बाग्मती सुगर मिलको प्रदूषणले जनता सास्ती

नवलपरासी, ३ माघ । नवलपरासीको कुडिया ८ मा रहेको बाग्मती सुगर मिलबाट निस्केको प्रदूषणले स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ । मिलबाट निस्कने खरानी, धुवाँ, धुलो, प्रदूषितपानी लगायतले वातावरणलाई नै दूषित बनाएको स्थानीयले बताएका छन् ।

मिलबाट निस्किएको प्रदूषणले खानेपानीसमेत दूषित बनाएको छ । तर, मिलले यसप्रति कुनै चासो नदिएको स्थानीय कोलिराम यादवले बताए । चिनी मिलबाट निस्केको दूषित पानीलाई फिल्टर नगरिकन मिलले सोझै २ किलोमिटर पर रहेको शिर खोलामा मिसाएको छ । बेलाटारी र कुडियाको सखुना खोला भन्ने स्थानको शिर खोलामा लगेर दूषित पानी मिसाइएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।

केमिकलयुक्त दूषित पानी पिउनाले जनावरको ज्यानसमेत जान सक्छ भने त्यो पानी परेको जमिन उब्जाउ रहँदैन । जसले गर्दा यसलाई फिल्टर गरेर मात्र फाल्नुपर्ने अध्यक्ष यादवको भनाइ छ ।

मिलमा क्रसिङको समयमा खरानी धेरै उड्दा बाहिर लुगा सुकाउनसमेत समस्या हुने गरेको कुडिया–४ रेताका रामचन्द्र पोख्रेलले बताए । चिनी मिलमा अहिले क्रसिङको समय हो । मिलबाट निस्कने कालो विषाक्त खरानीले खेतबारीमा तरकारी लगाउनसमेत नपाएको स्थानीयले गुनासो गरेका छन् ।

यहाँका स्थानीयले मिल सञ्चालक र मिलको प्रशासनसँग पटकपटक आग्रह गर्दा पनि मिल प्रशासनले प्रदूषण नियन्त्रणका लागि चासो दिएको छैन । वागमती सुगर मिलले आम्दानीको केही प्रतिशत रकम प्रदूषण नियन्त्रण र विकास निर्माणमा खर्च गर्नुपर्ने प्रावधान रहे पनि त्यसो नगरेको स्थानीयहरूको भनाइ छ ।

प्रदूषण नियन्त्रण गर्नका लागि पटकपटक मिलमा डेलिगेसनसमेत गएको र डेलिगेसन जाँदा समस्याको समाधान गर्छु भने गरे पनि उद्योगले चासो नदिएको भीमप्रसाद कोइरीले बताए । अध्यक्ष यादवले भने, ‘मिल प्रशासनसँग प्रदूषण नियन्त्रणका लागि पटकपटक सहमति भए पनि कार्यान्वयन भएको छैन ।’

पोख्रेलका अनुसार प्रदूषित तथा दुर्गन्धित पानी, कालो खरानी र धुलोले मानिस तथा जीवजन्तुको स्वास्थ्यमा गम्भीर असर परेको छ । यसले लामखुट्टेसमेत बढेको पोख्रेलले बताए । कारखानाबाट निस्केको कालो खरानी ७÷८ किलोमिटर परगाउँसम्म पुग्ने गरेको छ ।

त्यस्तै नवलपरासी जिल्ला खुला दिसामुक्त घोषणा भइसके पनि मिलमा कार्यरत मजदुरहरूले जथाभावी दिसापिसाव गर्नाले विभिन्न स्वास्थ्य समस्या निम्तिने गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया