सक्रान्ति बजारका अग्निपीडितलाई राहत

तेह्रथुम,२ माघ । तेह्रथुमको आठराई सक्रान्तिबजारमा भएको आगलागी पीडितलाई अमेरिका र डेनमार्कबाट १९ लाख रुपैयाँ बराबरको राहत सहयोग प्राप्त भएको छ । इवा घर भई हाल वाईट हेड नामक अमेरिकन कम्पनीमा कार्यरत इन्जिनियर मदन इङ्नाम र अमेरिकन नागरिक मार्क डियोनीको अगुवाइमा संकलित १२ लाख ११ हजार रुपैयाँ नगद र ५ लाख बराबरको जिन्सी सामग्री उपलब्ध भएको हो । यस्तै डेनमार्कबाट समेत ३ लाख बढी नगद सहयोग प्राप्त भएको छ ।

आफ्नो गाउँमा भएको आगलागीका पीडितलाई इन्जिनियर इङ्नामले संकलन गरेको सो रकम र सामग्री सक्रान्तिबजार पुगेर हस्तान्तरण गरेको समाजसेवी डम्बर इङ्नामले जानकारी दिए । इङ्नामले १२ लाख ११ हजार रुपैयाँको चेक प्रदान गरेको र सो रकम ‘सक्राान्ति बजार पुनर्निर्माण तथा पुनस्र्थापना कोष’मा जम्मा गरिने इलाका प्रशासन कार्यालय प्रमुख सफल पोर्तेलले बताए । जिन्सी सामग्रीतर्फ ६० परिवारलाई प्रेसर कुकर, कराई र थर्मस प्राप्त भएको छ ।

अग्निपीडित परिवारलाई डेनमार्कबाट पनि सहयोग रकम उपलब्ध भएको छ । सक्रान्तिबजार हाल डेनमार्क निवासी रोशन सिटौला र राजु शिवाकोटीमार्फत् डेनमार्क ग्रुपले सञ्चालन गरेको अभियानबाट सहयोग रकम उपलब्ध भएको हो । इलाका प्रहरी कार्यालय सक्राान्तिमा भएको कार्यक्रममा समाजसेवी शिवाकोटीको आमा सरला शिवाकोटीले ३ लाख २६ हजार २ सय ६७ रुपैयाँको चेक उद्योग वाणिज्य संघ सक्रान्ति बजारका अध्यक्षलाई हस्तान्तरण गरेका छन् ।

अग्निपीडितका लागि हालसम्म सांसद सीता गुरुङले १५ लाख र प्रधानमन्त्री पुष्पकमल दाहालले १ करोड दिने घोषणा गरेका छन् । गत पुस १ गते भएको भीषण आगलागीबाट सक्राान्तिबजारका ३२ घरसहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया