ठेकेदार बेपत्ता भएपछि नौ महिनादेखि भवन निर्माण अलपत्र

सोलुखुम्बु, २ माघ । ठेकेदारको बेवास्ताका कारण सोलुखुम्बुको स्वास्थ्य र वन कार्यालयको भवन निर्माण कार्य नौ महिनादेखि अलपत्र परेको छ । जिल्ला स्वास्थ्य कार्यालयको फाप्लुमा निर्माण हुँदै गरेको भवन र जिल्ला वन कार्यालयको भवन गत वैशाख महिनादेखि नै निर्माण कार्य रोकिएको हो । निलगिरि निर्माण सेवा प्रालिले ठेक्कामा लिएको भवन आगामी महिना हस्तान्तरण गरिनुपर्ने भए पनि दुवै भवन आधा निर्माण गरी अलपत्र छाडिएको छ ।

सहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुंगाको बजेटमा निर्माण भइरहेको ती भवनको ठेकेदारका बारेमा सहरी विकास कार्यालयलाई समेत जानकारी छैन । वैशाख १८ गतेदेखि सम्पर्कविहीन भएको ठेक्केदार कम्पनीका मानिस अहिलेसम्म सम्पर्कमा नआएको सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख सुवास बस्नेतले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयको भवन २ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो भने जिल्ला वन कार्यालयको भवन १ करोड २९ लाख रुपैयाँमा सम्झौता भएको थियो । दुवै भवनको आधा काम मात्रै सकिएको छ । दुवै कार्यालयको भवन निर्माण अवधि दुई वर्ष तोकिएको थियो । ठेक्केदार बेपत्ता भएपछि स्थलगत रुपमा खटिने कामदारले समेत पारिश्रमिक पाएका छैनन् । सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख बस्नेतले भने ठेकेदार बेपत्ता भएपछि खोजीका लागि ठेक्का कम्पनीले कारोबार गर्ने नेपाल बंगलादेश बैंकमा खाता रोक्का गर्न निवेदनसमेत पठाइसकेको बताए । भवन निर्माण नहुँदा जिल्ला स्वास्थ्य कार्यालय भाडाको भवनमा छ भने वन कार्यालयले इलाका रेन्जपोस्टको साँघुरो भवनमा काम गरिरहनुपरेको जिल्ला वन कार्यालयका प्रमुख मेघराज रायले बताए ।

प्रतिक्रिया