मोरङ, १ माघ । पथरी शनिश्चरे–१२ का धनबहादुर तामाङलाई माघे संक्रान्ति आउनै लाग्दा सिमल तरुल बेच्न भ्याइनभ्याई छ । सिँचाइ नहुने १ बिघा पाखोबारी लिजमा लिएर व्यावसायिक रूपमा सिमल तरुलको खेती लगाएका उनले फलाहारका रूपमा प्रयोग हुने सिमल तरुल बेच्न चटारो परेको छ । उनका अनुसार माघे संक्रान्तिमा तरुलको माग थेग्न नसक्ने हुन्छ ।
तरुलको उच्च माग हुने बेलामा आफ्नो उत्पादन सकिने उनको भनाइ छ । ४ वर्षयता निरन्तर तरुल खेती गरिरहेका भण्डारीले खेती लगाएको पहिलो वर्ष (०७०) सालमा १ लाख ५५ हजार रूपैयाँको तरुल बिक्री गरेको बताए । ०७१ सालमा हौसिएर व्यवसायमा लागेका तामाङले सो वर्षमा १ लाख ६५ हजार हात पारे । ०७२ मा उत्पादन अलि घट्यो । माग बढे पनि मूल्य ४ वर्षयता स्थिर छ । उनी भन्छन्, ‘गतवर्ष ९१ क्विन्टल सिमल तरुल उत्पादन भएछ । बजारबाट ट्रयाक्टर आएर प्रतिकेजी १५ रूपैयाँका दरले आफ्नै बारीबाट तरुल किनिदिएपछि उनले खर्च कटाएर १ लाख आम्दानी गरे ।
अर्काको जग्गा लिजमा लिएर खेती गर्दै आएका तामाङले जग्गाको वार्षिक २६ हजार रूपैयाँ भाडा तिर्दै आएका छन् । विगत वर्षमा त्यही जग्गामा लगाएको कोदो, फापर र रहर दालले तामाङलाई वर्षभरि खाने अन्न जोहो गर्न धौधौ हुने गथ्र्याे ।
तर, तरुल खेती गर्न थालेपछि आफ्ना दिन फेरिएको उनको भनाइ छ । निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीमा प्रवेश गरेयता तामाङले सिमल तरुल बेचेर सय मन धान किन्ने रकम जम्मा गर्न थालेका छन् । तामाङ भने, ‘धान नफल्ने खेतमा पनि उत्पादन हुने बालीको पहिचान गर्न जान्दा धानबाट भन्दा बढी आम्दानी लिन सकिने रहेछ ।’
‘पहिले पहिले आफैँलाई खानका लागि मात्र लगाइन्थ्यो, तर बजारको माग उच्च भएपछि व्यावसायिक खेती सुरु गरेको हुँ’, उनले भने । साबिक शनिश्चरे गाविसको दोहुलु क्षेत्रमा सिंचाइँको सुविधा छैन, पानी आकासकै भरमा मात्र । त्यसैले सिँचाइविना पनि उत्पादन गर्न सकिने नगदेबाली लगाएको तामाङको भनाइ छ ।
तामाङले विगत ४ वर्षदेखि सिमल तरुलको खेती गर्दै आएका हुन् । तर, सबै बाली चुस्स चुस्स लगाउँदा काम गर्न पनि गाह्रो र आम्दानी लिन पनि कठिन भएपछि उनले गतवर्षदेखि ‘एक किसान एक बाली’ अभियानमा लागेका हुन् ।
तामाङले पाखोबारीमा सिमल तरुल खेती गरेर राम्रो आम्दानी गरेको देखेपछि शुक्रबारे गाउँका हुकुमबहादुर थापाले ४ कट्ठा जग्गामा सिमल तरुल खेती सुरु गरेका छन् ।
५÷७ वर्षअघिसम्म गरिब दुःखीले छाक टार्न र खाजा खान प्रयोग हुँदै आएको सिमल तरुलको काठमाडौं, पोखरालगायत बजारबाट माग उच्च हुन थालेपछि पथरीशनिश्चरे–१२ दोहलु र शुक्रबारेका करिब डेढसय किसानले अहिले सिमल तरुलको व्यावसायिक खेती सुरु गरेका हुन् ।
प्रतिक्रिया