समय कट्यो बनेन पिल्लर

जाजरकोट, १ माघ । भेरी नदीको चिसापानीस्थित बैरीताल पुलको निर्माण कार्य ३ वर्षदेखि अलपत्र परेकोे छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत रुकुमको चिसापानी र जाजरकोटको डाँडागाउँ, छेप्काबीच भेरी नदीमा बन्ने सो पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको हो ।

हालसम्म नदीको दुवै तर्फका पिल्लर समेतको निर्माण पूरा भएको छैन । पुलको पिल्लर आधा मात्र उठाएर काम रोकिएकै २ वर्ष भएको छ । पुलको स्ल्यापलगायत निर्माण कार्य सुरुआतसमेत हुन सकेको छैन । ३ वर्षअघि आशिष निर्माण सेवा काठमाडौंले पुल निर्माणको जिम्मा लिएको थियो । ८ करोडको लागतमा निर्माण हुने ६६ मिटर लामो पुलको निर्माण अवधि गत मंसिर पहिलो साता नै सकिएको सडक डिभिजन चौरजहारीले बताएको छ ।

सम्झौता भएको मितिले पुल निर्माणका लागि सम्बन्धित कम्पनीलाई ३६ महिना म्याद हुने डिभिजन कार्यालय चौरजहारीले बताएको छ । चालु आर्थिक वर्ष पुलको निर्माणसम्बन्धी कुनै पनि प्रगति नभएको पाइएको डिभिजन कार्यालयको भनाइ छ ।

निर्माण कम्पनीले पुल निर्माणमा प्रयोग हुने उपकरण अन्यत्रै लगेर गएकाले निर्माण कार्य रोकेको शंका स्थानीयवासीले गरेका छन् । निर्माण व्यवसायीले हचुवाका भरमा टेन्डर हाल्ने र सम्झौता गर्ने अनि पेस्की लिएपछि काममा आलटाल गर्ने प्रवृत्ति मौलाएको स्थानीयवासीको आरोप छ । सम्झौता अनुसारको म्याद सकिएको भए पनि पुलको पिलरसमेत बन्न सकेको छैन । पुल निर्माण ढिलाइ हुँदा जाजरकोट–डोल्पा सडक, नलसिंहगाड जलविद्युत्लगायत आयोजना निर्माणमा बाधा पुगेको छ ।

समयमा पुल निर्माण नहुँदा स्थानीयवासीलाई आवतजावत र दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समेत समस्या भएको लहँका गणेशप्रसाद सिंहले बताए । सो पुलको निर्माणमा गिट्टी, बालुवा, सिमेन्ट, छडलगायत कमसल सामग्रीको प्रयोग भएको सिंहले बताए । उत्तर–दक्षिण भेरी करिडोरमा पर्ने सो पुलको निर्माण अलपत्र पर्नु त्यसैमा कमसल सामग्रीको प्रयोग हुनु सम्बन्धित पक्षको लापरबाही भएको उनले आरोप लगाए ।

व्यवसायीले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेकोे स्थानीय हरिबहादुर खत्रीको पनि सहमति रहेको छ । पुल निर्माणको ढिलाइले  बारेकोट, दल्ली, लहँ, रग्दा भगवती र डोल्पालगायतका बासिन्दालाई आवतजावतमा समस्या भएको खत्रीले बताए । यो पुल निर्माण नहुँदा जाजरकोट–डोल्पा सडक निर्माण गर्नका लागि ल्याइने सामग्री र दैनिक उपभोग्य सामग्रीसमेत ढुवानीमा समस्या भएको छ । यस क्षेत्रमा निर्माण हुने भौतिक संरचनाको सामग्रीसमेत लान निकै समस्या भएको छ । पुल नबन्दा जाजरकोट–डोल्पा सडकभित्र निर्माण हुने सहायक तथा मुख्य दर्जनौँ पुल निर्माणमा पनि समस्या भएको छ ।

प्रतिक्रिया