देवघाटमा माघेसंक्रान्ति मेला

चितवन, १ माघ । पवित्र तीर्थस्थल देवघाट धाममा रहेका ३ वटा आश्रमका पिठाधीश र तिनका प्रतिनिधिले बेनीमा बाँसको लिंगो ठड््याएर माघे संक्रान्ति मेला शुभारम्भ गरेका छन् । गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरी, हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्यास आश्रमका प्रतिनिधिसहितको सन्त, महन्त र भक्तजनको ¥याली बेनीमा पुगेर बाँसको लिंगो गाडिएसँगै मकर संक्रान्ति मेलाको सुरु गरिएको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलकाअनुसार मेला व्यवस्थापनका लागि चितवन, नवलपरासी र तनहँु जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुखसहित १ सय ११ सदस्यीय मूलसमिति गठन गरिएको र समितिको मातहतमा रहेका उपसमितिले आआफ्नो जिम्मेवारी पूरा गरेको अध्यक्ष पौडेलले बताए ।

स्नान क्षेत्र सुरक्षित गराइनुका साथै विद्युत्, खानेपानी, शौचालयको व्यवस्था गरिएको छ । कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा स्नान गर्दा नदीले बगाउनसक्ने समस्या हुन नदिन डोरी टाँगेर सुरक्षितस्थल छुट्याइनुका साथै डुंगा र ¥याफ्टिङको पनि व्यवस्था गरिएको छ ।

पुलमाथिबाट एकपटकमा दुवैतर्फबाट ५०÷५० जना मात्रै जाने आउने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताए । यसपटक स्नानपछि कपडा फेर्नका लागि महिलालाई विशेष व्यवस्था गरिएको छ भने अशक्त असहाय र वृद्धका लागि निःशुल्क डुंगाको व्यवस्था गरिएको छ । उद्धारका लागि आदिवासी जनजाति बोटे समाजको नेतृत्वमा रेडक्रसको झन्डा राखेर एउटा डुंगा तयारी अवस्थामा राखिएको छ भने सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली पनि तैनाथ हुने उनले बताए । देवघाट आवतजावतका लागि नारायणगढ–मुग्लिन सडकखण्डको दासढुंगा र रामनगरबाट देवघाटतर्फ जाने व्यवस्था मिलाइएको छ भने फर्किंदा आँपटारीबाट बाहिरिने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । माघेसंक्रान्तिमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ ।

प्रतिक्रिया