डडेल्धुरा, १ माघ । चुरे क्षेत्र संरक्षणका लागि जिल्लाको रंगुन नदी र अन्य खहरे खोलामा तारजाली तथा जैविक तटबन्ध निर्माण गरिएको छ । बाढी, पहिरोका कारण पर्शुराम नगरपालिका र आलिताल गाविसअन्तर्गत चुरेक्षेत्रको वनजंगल विनासलाई रोक्नका लागि खहरे खोला र रंगुन नदीको १० किलोमिटर क्षेत्रमा तारजाली एवं जैविक तटबन्ध निर्माण गरिएको जिल्ला वन कार्यालय डडेल्धुराले जानकारी दिए ।
पर्शुराम नगरपालिकाको जोगबुढा र आलितालमा बर्सेनि वर्षायाममा बाढी पहिरोका कारण मानवबस्ती, खेत र जंगल बगाई विनाश हुन थालेपछि रंगुन नदी र अन्य खोलामा पनि तटबन्ध निर्माण गर्न लागिएको जिल्ला वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडासैनीले जानकारी दिए । राष्ट्रपति चुरे सरंक्षण कार्यक्रमको आर्थिक सहयोगमा जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय धनगढी र जिल्ला वन कार्यालय डडेल्धुराले तटबन्ध निर्माण गर्ने कार्य गरिरहेको इलाका वन कार्यालय जोगबुढाका सहायक वन अधिकृत चिरञ्जीवी थापामगरले बताए ।
जिल्ला वन कार्यालयको प्राविधिक सहयोगमा रंगुन नदीमा करिब ३ किलोमिटर क्षेत्रमा तारजाली सहितको जैविक तटबन्धसमेत निर्माणकार्य सम्पन्न भइसकेको वन अधिकृत थापामगरले बताए । यो वर्ष करिब ५० करोड रूपैयाँको लगानीमा रंगुन नदी सघन नियन्त्रण गुरुयोजनाअन्तर्गत रंगुन नदी र खहरेखोलाको १० किलोमिटर क्षेत्रमा बाढी पहिरोबाट बचाउनका लागि तारजालीलगायत ढुंगागिट्टी तथा खैर, वयर र अन्य रुखसमेत लगाई जैविक तटबन्ध लगाउने कार्य भइरहेको स्थानीय डम्बर कामीले बताए ।
यो वर्ष मात्रै रंगुन नदीलगायत अन्य चुरेक्षेत्रका आसपासको बस्ती र खेतीयोग्य जमिनलाई बचाउनका लागि पर्शुराम नगरपालिका १२ लाढुंगामा ५ किलोमिटर र वडा नं–५ परिगाउँमा ३ किलोमिटर गरी करिब ८ किलोमिटर क्षेत्रमा तारजालीलगायत ढुंगाको तटबन्ध निर्माण कार्य सम्पन्न भएको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।
तत्कालका लागि अति जोखिममा रहेका र जैविक तथा भू–स्खलन क्षेत्र, बस्ती र जंगल बचाउनका लागि रंगुनलगायत अन्य चुरे क्षेत्रका खहरे खोलाको करिब ८ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ ।
प्रतिक्रिया