‘दर्पणछाँया–२’को क्लाइमेक्स दार्जिलिङमा खिचियो

darpan-chaya-2-re-shootकाठमाडौं, २५ पुस । निर्देशक तुलसी घिमिरेले आफ्नो प्रतिक्षित चलचित्र ‘दर्पण छाँया–२’को क्लाइमेक्सको छायांकन पुनः गरेका छन् । दार्जिलिङमा पुगेर उनले चलचित्रको क्लाइमेक्स खिचेका हुन् ।

क्लाइमेक्सको करिब १५ मिनेटको दृश्यलाई भिएफएक्सबाट आकर्षक बनाउने उनको योजना थियो । तर, भिएफएक्सबाट क्लाइमेक्स सोचेजस्तो नभएपछि उनी दार्जीलिङ पुगेर फेरी सो क्लाइमेक्स सिन खिच्न वाध्य भएका हुन् । जय गिरीले तुलसीलाई क्लाइमेक्सको १५ मिनेट भिएफएक्समार्फत नै आकर्षक बनाउने वचन तुलसीलाई दिएका थिए । तर, चलचित्र रिलिजको समय नजिकिँदै गर्दा तुलसीलाई भिएफएक्स चित्त बुझेन । र, उनी कलाकारको टोली बोकेर दार्जिलिङ पुगेका थिए ।

दार्जिलिङको जिटिए सभा हलमा क्लाइमेक्स खिचेपछि तुलसी बल्ल मुस्कुराएका छन् । उनले भने, ‘हामीले यहि दृष्यलाई भिएफएक्स गर्न एक चरणको सुटिङ गरिसकेका थियौँ । तर, यसको जिम्मा लिएका जय गिरीले राम्रो गर्न सकेनन् ।’ चलचित्रको क्लाइमेक्समा रहेको नृत्यको कोरियोग्राफी मिङ्मा दोर्जी लेप्चाले गरेका छन् । उनी भारतीय टेलिभिजन स्टार प्लसले गर्ने ‘डान्स प्लस’ सिजन–२ का फाइनलिस्ट हुन् ।

चलचित्रको छायांकन रामेश्वर कार्कीले गरेका हुन् । चलचित्रमा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन् । सहारा फिल्म्सको प्रस्तुतिमा तयार भएको यो चलचित्रको प्रस्तुतकर्ता डा.लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् ।

प्रतिक्रिया