विश्वराजको जलरङी चित्र प्रदर्शनमा

pokhora-rangaकास्की, २० पुस । पोखराका कलाकारहरूको समूह ‘सिर्जनशील कलाकार समूह’ को आयोजनामा कलाकार विश्वराज पराजुलीका जलरङ चित्रहरूको प्रदर्शनी सुरु भएको छ । बिहीबारदेखि सुरु भएको ‘द ब्युटिफुल एन्ड द सबलाइम’ शीर्षकको एकल कलाप्रदर्शनी बुधबारसम्म चल्नेछ ।

प्रदर्शनीको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.चिरञ्जीवी शर्माले गरेका थिए । उद्घाटनसँगै उनले कलामा रङ र रेखा मात्रै नहुने बताउँदै दर्शन र मनोविज्ञान पनि हुने हुँदा कलाकारको अनुभव र अनुभूति कलामा अनुवाद भएर आउने बताए । वरिष्ठ कलाकार दुर्गा बरालले १४ वर्ष अगाडि त्रिभुवन विश्वविद्यालयमा पराजुलीको कला प्रदर्शनी हेरेदेखि नै प्रभावित भएको बताउँदै अहिले उनको कलामा निखारता आएको प्रतिक्रिया दिए । ‘पानी रङमा कला सिर्जना गर्नु अत्यन्तै जोखिम छ,’ उनले भने, ‘पानी रङ चलाउनु जंगली घोडा चढ्नु जस्तै चुनौतिको कुरा हो । यस रङमा पारदर्शिताका साथै भावनाहरूलाई बग्न दिनुपर्ने हुन्छ,’ उनले भने ।

कलाकार पराजुलीले पोखरा विश्वविद्यालयमा प्राध्यापनको पेसा अँगाले पनि कला आफ्ना लागि सोख भएको हँुदा कलाकारितालाई निरन्तरता दिँदै आफ्नो क्रियाशीलतालाई हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘चित्रकलामा पोखरा पानी रङको सहरका रूपमा परिचित छ, शिल्प र शैलीका दृष्टिले पोखरेली कलाको स्वाद फरक भएको मान्यतालाई स्थापित गर्न हामी सबै पोखरेली कलाकार लाग्नुपर्दछ ।’ उनले पोखराको प्राकृतिक सुन्दरता, मनै लोभ्याउने दृश्य, सामाजिक परिवेश, विविध सांस्कृतिक परिवेशलाई चित्रमा उतारेका छन् । प्रदर्शनीमा ५२ वटा जलरङमा तयार पारिएका चित्र राखिएका छन् । पराजुलीका कलामा समसामयिक चेत र मौलिकपन तथा उच्च सांस्कृतिक भाव रहेको समूहका सल्लाहकार बुद्धि गुरुङको भनाइ थियो ।

पोखरामा बसेर जलरंगी चित्र बनाउँदै आएका पराजुलीका चित्रमा रङ, विषय र परिवेशको सुललित संयोजन रहेको पाइन्छ । उनले काठमाडौंलगायत विश्वका विभिन्न देशमा सामूहिक कला प्रदर्शनी गरिसकेका छन् । कलासम्बन्धी विभिन्न संघसंस्थामा आबद्ध रहेर कलाको संस्थागत विकासमासमेत उनको सक्रियता रहेको पाइन्छ ।

प्रतिक्रिया