छाउघरको विमोचन

chhau-gharकाठमाडौं, ७ पुस । मंगलबार राजधानीमा राज सरगम लिखित उपन्यास ‘छाउघर’को विमोचन भएको छ । हास्य अभिनेता हरिवंश आचार्य, पूर्व मिस नेपाल माल्भिका सुब्बा र लेखक अमर न्यौपानेले संयुक्त रूपमा विमोचन गरे ।

छाउघर एउटा १२ वर्षे किशोरीको कथा हो, जसलाई छाउ भएका कारण घरबाट टाढा, एकान्त छाउगोठ बस्न बाध्य पारिन्छ । २२ दिन छाउगोठमा बस्दा ती किशोरीको मनमा उठेका मनोभाव, मनोदशालाई छाउघरमार्फत् सरगमले प्रस्तुत गरेका छन् । महिलाको एकदमै संवदेनशील विषय रजस्वलालाई सुन्दर रूपमा उपन्यासमा उतारिएको भन्दै माल्भिका सुब्बाले टिप्पणी गरिन्, ‘जुन प्रकृतिको देनले मलाई आमा बन्न सक्ने बनायो, त्यसलाई समाजले छिःछिः र दुरदुर गर्छ ।’

उनले उपन्यासको मुख्य पात्रको कलाको विद्रोहको सिलसिला जोड्दै उनले छाउ नबार्ने समुदायबाट छाउ बार्नुपर्ने समुदायमा बिहे गरेर आएकाले बार्नुपर्ने ५ दिन दास जीवनजस्तो लाग्ने बताइन् । ‘छोराको पास्नीमा म नछुने भएको थिएँ । तर, छोरालाई पहिलोपटक खाना खुवाउने आमाको हक छोडिनँ । मैले मेरो छोरालाई खाना खुवाएँ, रातो टीका लगाइदिएँ । तर, मलाई पितृ दोष लागेन, हाम्रा कुल रिसाएनन्,’ उनले भनिन् ।

कार्यक्रमका अर्का टिप्पणीकार अमर न्यौपानेले प्रत्येक अक्षरलाई छुँदै कुनै उपन्यासलाई धैरेपछि पढ्न पाएको बताए । उनले महिलाको संवेदनशील विषयमा संवेदनशीलताका साथ, त्यो पनि पुरुष भएर, लेख्न सक्नु सानोतिनो उपलब्धी नभएको भन्दै लेखकको प्रशंसा गरे । पुरुष भएर महिलाबारे लेख्न सकिँदैन भन्ने आमधारणा रहेको बताउँदै उनले पुरुष भएर पनि महिलाको संवेदनशील विषयमाथि कलम चलाउन सकिने बताए । बालविधावामाथि लेखिएको मदन पुरस्कार विजेता उपन्यासका लेखकले भने, ‘पुरुष भएर महिलाबारे लेख्न सकिँदैन भनिन्छ ।

भाषिक पहिचानलाई छाउघरले स्थापित गर्न सघाउने भन्दै उनले छाउघरमा आञ्चलिक भाषाको अधिक प्रयोग भए पनि ‘रिदम’का कारण जो कोहीले पनि सजिलै बुझ्नसक्ने बताए ।

छाउप्रथालाई पुरुषले भन्दा महिलाले नै प्रश्रय दिएको भन्दै हास्य अभिनेता हरिवंश आचार्यले बार्ने चलन महिलाको मात्र समस्या नभएकाले उन्मूलनका लागि पुरुष पनि अग्रसर हुनुपर्ने धारणा राखे । ‘पुरुषहरूलाई अनुरोध, रजस्वला भएका महिलाहरूलाई घरमा छोडेर आफूहरू छाउगोठमा गएर बस्नुस्, त्यहाँबाट सुरु हुन्छ साँचो परिवर्तन,’ उनले भने ।

कार्यक्रममा बोल्दै प्रकाशक फाइन प्रिन्टका अजित बरालले महिनावारीलाई हेने दृष्टिकोण उपन्यास छाउघरले बदल्न सक्ने बताए ।

प्रतिक्रिया