युवराजद्वारा राज्याभिषेक स्वीकार

thailand-prince-copyबैंकक, १६ मंसिर । थाइल्यान्डका युवराज महा भाजिरालोङकोर्नलाई नरेश बनाउने मन्त्रिपरिषद्को प्रस्तावलाई अनौपचारिक रूपमा उनले स्वीकार गरिसकेको उपप्रधानमन्त्री प्रावित वङसुवानले बुधबार बताएका छन् । ‘युवराजले राज्याभिषेकका लागि गरिएको निमन्त्रणालाई स्वीकार गरिसक्नुभएको छ, राज्याभिषेकका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौँ’, प्रवितले बुधबार बिहान संवाददाताहरूसँग भने ।

थाइल्यान्डको संसद्ले मंगलबार उनलाई राज्याभिषेकका लागि औपचारिक रूपमा आग्रह गरेको थियो । युवराज भाजिरालोङकोर्न आफ्ना पिताको देहावसानको निकै सातापछि मुलुकको नरेश बन्ने मार्ग खुल्ला भएको हो । अत्यधिक श्रद्धा गरिने नरेश भूमिबोल अदुल्यादेजको गत अक्टोबर १३ मा ८८ वर्षको उमेरमा देहावसान भएको थियो । उनले थाइल्यान्डमा ७० वर्ष शासन गरेका थिए ।

यसअघि युवराज भाजिरालोङकोर्नले आफ्ना पिता भूमिबोलको देहावसानपछि आफू शोकमा रहेको अवस्थामा आफ्नो नाम नरेशका रूपमा घोषणा गर्ने काम रोक्न आग्रह गरेको सैनिक सरकारले घोषणा गरेको थियो ।

मंगलबार मन्त्रिपरिषद्ले घोषणा गरेपछि स्वर्गीय नरेश भूमिबोलको उत्तराधिकारीका विषयमा आशंका हटेको छ । ६४ वर्षीय युवराज भाजिरालोङकोर्नलाई ४ दशकअगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीका रूपमा घोषणा गरिएको थियो । औपचारिक रूपमा थाइल्यान्डमा नरेशको सीमित संवैधानिक अधिकार रहेको छ ।

७ दशकसम्मको शासनमा भूमिबोलले सम्मानजनक राजाका रूपमा रहेका थिए । विशेषगरी उनीले थाइल्यान्डको शक्तिशाली सैनिक सम्भ्रान्त वर्गमा शक्तिशाली सञ्जाल तयार गरेका थिए । उनले थाइल्यान्डमा संकटको समयमा मध्यस्थकर्ताको कार्य पनि गरेका थिए । तालिम प्राप्त विमानचालक रहेका युवराज भाजिरालोङकोर्नले आफ्नो पिताको जस्तो सम्मान प्राप्त गर्न बाँकी छ । उनको तीनपटक सम्बन्ध विच्छेद भएको र प्रहरीको भ्रष्टाचारका विषयमा उनका पूर्वपरिवारको नामसमेत जोडिने गरेको छ ।

नरेश भूमिबोलको देहावसानपछि युवराज भाजिरालोङकोर्नले अन्त्येष्टिका केही दैनिक संस्कारमा भाग लिए तापनि कुनै सार्वजनिक भनाइ राखेको छैन ।

एकवर्षको शोक अवधिसम्म अन्त्येष्टिको संस्कार कायम रहने त्यहाँको प्रचलन रहेको छ । थाइल्यान्डमा स्वर्गीय नरेशको अन्त्येष्टिको संस्कार सम्पन्न भएपछि मात्र नयाँ नरेशलाई श्रीपेच पहि¥याउने चलन रहेको छ ।

प्रतिक्रिया