काठमाडौं, २४ कात्तिक । झट्ट सुन्दा फिल्मजस्तै लाग्ने घटना राजधानीमै भएको छ । एक प्रेमीले आफ्नी प्रेमिकाको हत्या गरेपछि हराएकी भन्दै प्रहरीमा गुहार माग्नसमेत पुगे । १३ कात्तिकमा सिन्धुपाल्चोक महांकाल घर भइ बुढानीलकण्ठ बस्दै आएकी सन्तोषी भन्ने एलिसा नेपाली एकाएक हराइन् भन्दै परिवारका सदस्य प्रहरीमा गुहार माग्न पुगेका थिए ।
एलिसाका बाबुलाई ‘छोरी चाहिने भए डेढ करोड रुपैयाँ ल्याऊ’ भन्दै अपरिचित व्यक्तिले धम्क्याएका थिए । महानगरीय प्रहरी वृत्त थिमीमा यो घटनाको जानकारी आयो । थिमीमा आएको जानकारीमाथि थप अनुसन्धान महानगरीय प्रहरी अपराध महाशाखाले गरेको छ । सुरुमा प्रहरीले एलिसा अपहरणमा परेको आशंकामा अनुसन्धान अगाडि बढाएका थियो ।
एलिसाको फोन नम्बरको लोकेसन ट्रेस गर्दा उनी १२ कात्तिकमा बिहान चाबहिलस्थित गोपीकृष्ण हल नजिकै पुगेको देखियो । उनको नम्बरमा फोन गर्ने व्यक्ति थिए रामेछाप ओख्रेनी घर भइ हाल भक्तपुर थिमीस्थित बोडे बस्दै आएका रेशम भन्ने मुक्तिनाथ लामिछाने । तर, लामिछाने स्वयं परिवारका सदस्यसँग एलिसा हराएको जानकारी दिन प्रहरी कार्यालयमा पुगेका थिए ।
मुक्तिनाथमाथि शंका गर्ने क्रम नरोकिए पनि उनैले हत्या गरेको निष्कर्षमा पुग्न प्रहरीलाई समस्या भयो । एलिसा खोज्दै जाने क्रममा २० कात्तिकमा मध्यपुर थिमी नगरपालिकास्थित मनोहराखोलाबाट बोडेतर्फ जाने कच्ची सडक किनारमा बोरामा प्याक गरेको अवस्थामा युवतीको शव फेला परेको थियो ।
तत्कालीन समयमा मृतक युवती सन्तोषी नै हो भन्ने नखुले पनि पछि एलिसाका परिवारले शवको सनाखत गरे । मुक्तिनाथ र एलिसाको ‘लभ अफेयर’ का बारेमा जानकार रहेका परिवारले प्रहरीमा निवेदन दिँदा पनि उल्लेख गरेका थिए । शंकाको घेरामा रहेका मुक्तिानाथलाई महाशाखाले २२ कात्तिकमा पक्राउ ग¥यो । सुरुमा आनाकानी गरेका मुक्तिनाथले प्रहरीलाई खुरुखुरु हत्याको कबुल गरे । गत वैशाखमा बुढानीलकण्ठस्थित रिफ वाटर प्रोसेस नामको पानी फ्याक्ट्रीमा चीनजान भएका एलिसा र मुक्तिनाथबीच प्रेम सम्बन्ध थियो । प्रेमिकालाई खुसी बनाउन मुक्तिनाथले बेलाबेलामा पैसा दिँदै आएका थिए । कामकै सिलसिलामा मुक्तिनाथको आचरण ठीक नभएको कारण देखाएर पानी फ्याक्ट्रीको साहुले उनलाई कामबाट निकाली दिए । गएको दसैं अगडि एलिसाको अर्को केटा श्याम श्रेष्ठसँग प्रेम सम्बन्ध रहेको मुक्तिनाथले थाहा पाएपछि उनीहरूबीच दरार उत्पन्न भएको थियो ।
महाशाखाका अनुसार हत्याको योजना बनाएका मुक्तिनाथले १२ कात्तिकमा एलिसालाई फोन गरी चाबहिलस्थित गोपीकृष्ण हल नजिकै बोलाएर चिया खुवाएर आफूसँगै कोठामा लगेका थिए । कोठामा पुगेपछि मुक्तिनाथले आफूले दिएको पैसा र श्यामसँगको अफेयरका बारेमा एलिसालाई सोधेका थिए ।
एलिसाले उल्टै कराएपछि मुक्तिनाथले घरको भ¥याङमुनि रहेको काठको गुन्द्री बुन्ने हत्तासोले एलिसालाई टाउकोमा प्रहार गरेका थिए । मुक्तिनाथले एलिसा भुइँमा लेडेपछि पटकपटक टाउकोमा हतासो प्रहार गरेर हत्या गरेका थिए । १२ कात्तिकमै हत्यापश्चात मुक्तिनाथले दिउँसो १२ बजे एलिसाको ज्याकेट, लेडिज ब्याग, जुत्ता तथा रगत लागेको कोठाको कार्पेटसमेत एउटा बोरामा हालेर नीलबाराही जंगलमा फालेको बयान प्रहरीमा दिएका छन् ।
एलिसाको हत्यापछि भौँतारिएका मुक्तिनाथ मुलपानी हुँदै कोटेश्वर पुगी एलिसाको बाबुलाई ९८२३४७१५११ बाट फोन गरी हिन्दी भाषामा एलिसा चाहिने भए १ करोड ५० लाख ल्याउनु भनेर धम्क्याई पुनः बोडे पुगेका थिए । हत्या भएको दिन राती १० बजे मुक्तिनाथले एलिसालाई कुखुराको दाना हाल्ने प्लास्टिकको बोरामा हाली घरभन्दा करिब २ सय मिटर पश्चिममा लगि सडक किनारामा फालेका थिए । हत्यामा प्रयोग भएको हतासो भने घर पछाडि फालेका थिए ।
महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने, ‘एलिसाको हत्या मुक्तिनाथले नै गरेको हो भन्ने कुरा सुरुमा पत्याउन प्रहरीलाई नै मुस्किल प¥यो, पूरै फिल्मी शैली अपनाएर योजनाबद्ध ढंगले एलिसाको हत्या भएको देखिन्छ ।’ एलिसा हत्याको स्वीकार मुक्तिनाथ आफैँले गरेको जानकारी कार्कीले दिए ।
प्रतिक्रिया