देउसीभैलोको रकम नेत्रहीनलाई

मोरङ, २० कात्तिक । उर्लाबारी–राजघाट ढल्के जोवन फुटबल टोलीले देउसीभैलोबाट उठेको रकम नेत्रहीन बयलकोटी दम्पतीलाई प्रदान गरेको छ ।
उर्लाबारी–१ विशाल टोलका होमबहादुर र सम्झनालाई ३० हजार रुपैयाँ र ५ सय बराबरको कम्बल, चकटी लगायत साम्रगी प्रदान गरिएको हो । सम्झना गर्भवती रहेको र यसै हप्ता बच्चा जन्मिने समय रहेकाले जीविकोपार्जनमा सहज बनाउन सहयोग गरिएको टोलीले जनाएको छ ।

राजघाट परिवार हङकङका अध्यक्ष टीका थलङ लिम्बू र उर्लाबारी घर भई काठमाडौंमा बसेर व्यवसाय गर्दै आएका गणेश बाइवाको नेतृत्वमा खेलिएको देउसीभैलोबाट संकलित रकम बयलकोटी दम्पतीलाई दिइएको टोलीका सदस्य सन्तोष तामाङले बताए ।

यसअघि न्यानो अभियान नेपालका कार्यक्रम संयोजक सरोज बस्नेतको संयोजनमा बयलकोटी दम्पतीको घर बनाइएको थियो ।

प्रतिक्रिया