काठमाडौं, २० कात्तिक । रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताएका छन् ।
काँग्रसेका नेतासमेत रहेका मन्त्री खाँणले राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणले नेपालको सुरक्षा स्थितिबारे विश्वमा सकारात्मक सन्देश गएको बताए ।
राष्ट्रपति मुखर्जीको भ्रमणले नेपाल–भारत द्विपक्षीय सम्बन्धमा सुधार तथा विश्वासको वातावरण बनेको उनको धारणा छ । राष्ट्रपति मुखर्जीको सुरक्षामा पनि सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै मन्त्री खाँण भने, ‘सुरक्षामा हामीले कुनै कमी हुन दिएनौ, त्यस क्रममा बाटो खाली गराउँदा जनतालाई केही कठिनाइ भएको हुनसक्छ । तर, यस भ्रमणले विश्वभर मुलुकबारे सकारात्मक सन्देश गएको छ ।’
भ्रमणले छिमेकीमूलुक भारतसँगको मित्रता र सद्भावमा वृद्धि हुनुका साथै भोलिका दिनमा अन्य मुलुकबाट पनि अति विशिष्ट व्यक्तिको नेपाल भ्रमण हुने बाटो खुलेको उनको भनाइ छ ।
प्रतिक्रिया